कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निमार्ण भइरहेको महाकाली चार लेन पुलसँगै जोडने गरी बनिरहेको ६ लेनको पहुँच मार्ग (भाइरल रोडले परिचित) सुनसान बनेको छ ।
महाकाली नदीको किनारै किनार गड्डाचौकीसम्म ६ किमी पहुँच मार्ग निमार्ण सम्पन्न नहुँदै सामाजिक सञ्जालमा भाइरल बनेपछि भाइरल रोड आन्तरिक पर्यटकको रोजाई बन्न पुगेको थियो। अढाई किमी मात्रै कालोपत्रे भएको भाइरल रोडमा टिकटक बनाउने देखि फोटो खिच्नेहरूको भीड हुने गर्दथ्यो । तर गत साता आएको बेमौसमी वर्षाका कारण भाइरल रोडको २ सय ५० मिटर सडक महाकाली नदीले बगाएपछि अहिले उक्त सडक सुनसान बनेको छ । महाकाली नदीमा आएको बाढीले भाइरल रोड र पक्की पुल जोड्ने पहुँच मार्ग बगाएपछि पुलसँगको सम्बन्ध विच्छेद भएको छ भने यहाँ घुम्न आउने पर्यटकहरू समेत आउन छोडेका छन् ।
महाकालीमा बन्ने पुलसँगै पर्यटकहरूको लागि बन्ने पोखरी र आइल्याण्ड बन्न बाँकी नै छ । तर पर्यटकीय संरचनाहरू निमार्ण नहुँदै उक्त सडक सामाजिक सञ्जालमा भाइरल बनेपछि यहाँ घुम्न आउने पर्यटकहरूको घुइँचो लाग्न थालेको थियो । गत साता आएको बाढीले बगाएपछि अहिले उक्त सडक सुनसान छ । यहाँ टिकटक बनाउन र फोटो खिच्नकै लागि बाँके, बर्दिया, कैलाली, डडेलधुरालगायत अन्य ठाउँबाट महाकाली किनार पुग्ने गरेका थिए। महाकाली नदी किनारमा बनेको ६ लेन सडक र उत्तरतर्फका मनोरम पर्वतको दृश्यले यहाँ आउने पर्यटकहरूको मनै लोभ्याउनुका साथै स्थानीयहरूले समेत आयआर्जन गर्न थालेका थिए।
नदी किनारमै ठेला व्यवसाय सञ्चालन गर्नेहरू समेत अहिले विस्थापित बन्न पुगेका छन् । भाइरल रोडको केही भाग बगाएपछि यहाँ घुम्न आउने पर्यटकहरू नआउँदा साना व्यवसायी समस्यामा परेको स्थानीयहरूले बताउने गरेका छन्। बाढीपछि सुनसान बनेको भाइरल रोडका कारण अहिले साना व्यवसायी समस्यामा परेको स्थानीयको भनाई छ । पुलको दुवैतर्फ ५ हजार ४ सय मिटर बाँध निर्माण गर्ने योजना भए पनि त्यसका लागि आवश्यक २ सय ६० किलोग्रामभन्दा बढी तौलका १ लाख ४१ हजार घन मिटर ढुङ्गा अभाव हुँदा भाइरल रोडमा क्षति पुगेको निमार्ण कम्पनीले जनाएको छ । महाकाली पुल योजना कार्यालयले स्थानीय तहहरूसँग पटक–पटक ढुङ्गा उपलब्ध गराउन आग्रह गरे पनि त्यो उपलब्ध नहुँदा अहिले ठुलो क्षति बेहोर्नुपरेको जनाएको छ ।
कुमार श्रेष्ठ निमार्ण सेवाका इन्जिनियर किशोरराज पाण्डेयले वर्षाको समय त हामीले धेरै ठाउँमा ढुङ्गा ग्राभेल हालेर जोगाएको तर पछिल्लो पटक बेमौसमी वर्षापछि महाकाली नदीमा हालसम्म कै उच्च बाढी आउँदा भाइरल रोडमा क्षति पुगेको बताउनुभयो । महाकाली पुल योजना कार्यालयले भने पर्यटकहरूको मुख्य आकर्षणको रुपमा रहेको महाकाली पक्की पुलको छेउमै बन्ने आइल्याण्ड र पोखरी निमार्णको काम बाँकी रहेको जनाएको छ । महाकाली पुलको वारी र पारी दुई वटा पोखरी निमार्ण हुनेछन् । उक्त पोखरीको बिचमा तीन वटा आइल्याण्ड बन्नेछन् । आइल्याण्डसम्म पुग्न र्याफटिङ्ग तथा ढुङ्गामार्फत पुग्न सकिन्छ ।उक्त आइल्याण्ड निमार्णका लागि आवश्यक पर्ने ढुङ्गा अभावका कारण काम सुरु हुन सकेको छैन । उक्त पोखरी निमार्णपछि यहाँ घुम्न आउने पर्यटकहरूको सङ्ख्या बढ्ने पुल आयोजनाले जनाएको छ । महाकाली नदीमा बनिरहेको चार लेनको पुलसँगै निमार्ण हुने पोखरी र आइल्याण्ड निमार्ण सम्पन्नपछि यो ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुने अपेक्षा गरिएको छ ।