डोटी। बाढी पहिरोका कारण ठाउँ ठाउँमा सडक बन्द हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव हुन थालेको छ । औषधिको अभाव हुँदा अतिआवश्यक उपचार सेवासमेत प्रभावित हुन थालेको छ ।
एक हप्ता अगाडिको बाढीपहिरोले राजमार्ग तथा ठाउँठाउँका सडक बन्द हुँदा बझाङ, बाजुरा, बैतडी र अछाम लगायत जिल्लामा औषधिको अभाव हुन थालेको हो ।सडक बन्द हुँदा एक हप्तासम्म निकै सास्ती भोगेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयो । उहाँकाअनुसार गएको १ गतेदेखि ६ गतेसम्म ढुवानी ठप्प हुँदा सुदूरपश्चिमका प्रायजसो सबै ग्रामीण क्षेत्रमा औषधिको अभाव भएको थियो।
तर, अहिले केही ठाउँमा सडक खुल्न थालेकाले खुलेका ठाउँमा ढुवानी गर्न थालिएको छ । बन्द भएका केही सडक खुले पनि अझै धेरै सडक ठप्प छन् । यसले गर्दा ग्रामीण क्षेत्रमा अझै औषधिको अभाव हुने देखिएको छ। अहिलेसम्म जसोतसो काम चलाइरहेको भए पनि तत्काल ढुवानी नभएमा अवस्था गाह्रो हुन सक्ने जिल्ला अस्पताल बझाङका सूचना अधिकारी गंगाप्रसाद जोशीले बताउनुभयो। उहाँकाअनुसार सडक बन्द हुँदा इन्धन आपूर्ति समेत रोकिएको छ।
यसले गर्दा भिडियो एक्सरे, अक्सिजन प्लान्ट र कोरोनाको पीसीआर परीक्षण पनि बन्द भएको छ । यस्तै यातायात बन्द भएका कारण रेफर गर्नुपर्ने बिरामी बढी समस्यामा परेका छन् । सडक बन्द हुँदा एक ठाउँबाट उपचारका लागि उनीहरु अर्को ठाउँमा जान पाएका छैनन् । यस्तै, जिल्ला अस्पताल डोटीका डाक्टर प्रकाश ठकुल्लाले सडक बन्द भएपछि केही दिनयता औषधिको अभाव भएको बताउनुभएको छ ।