असोज शुक्ल सप्तमीका दिन मङ्गलबार सनातन हिन्दु धर्मावलम्बीले घर–डेरामा फूलपाती भित्र्याइँदै छन् । केरा, दारिम, उखु र अदुवाको बोट, बेसार, बेलपत्र, अशोक र जयन्तीको फूल, असुरोको पातलाई नवपत्रिका मानेर फूलपाती भित्र्याउने प्रचलन छ ।
नौ थरीको फूल वा पात हुने भएकाले यसलाई नवपत्रिका समेत भनिन्छ। यसलाई नवदुर्गाको पार्षद् अर्थात सहायकको रुपमा भित्र्याइने प्रचलन छ। केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ।
हनुमानढोका दरबारस्थित दशैँघरमा भित्र्याउने गरी धादिङको जीवनपुरबाट काठमाडौँको जमलमा फूलपाती ल्याउने टोली मङ्गलबार जीवनपुर गएको छ । नेपाली सेनाको शार्दूूलजङ्ग गुल्मका दुई जवान र हनुमानढोका दरबार हेरचाह अड्डाका चार जना जीवनपुर गएका छन् । विगतमा समरजङ्ग कम्पनीको टुकडी जीवनपुर जाने गरेकोमा कम्पनीको जिम्मेवारी शार्दूूलजङ्गमा सारिएकाले यसमा गुल्म सरिक हुन थालेको हनुमानढोका दरबार हेरचाह अड्डाका पर्वपूूजा संयोजक मीठाराम पुडासैनी बताउनुहुन्छ ।
गोरखाबाट मगर जातिले पैदलै जीवनपुर ल्याएको फूलपातीलाई जीवनपुरबाट जमल हुँदै हनुमानढोका दरबारस्थित दशैँघरमा भित्र्याउने प्रचलन छ । सरकारी अधिकारी र गुरु पुरोहितले आशागुर्जा कल्स्यौँडीसहित सिँगारिएको फूलपातीलाई जमलमा स्वागत गरेर दशैँघर भित्र्याउने तयारी भएको छ । दरबार हेरचाह अड्डा प्रमुख सन्दीप खनालका अनुसार दुर्लभ असुरोको पातसहितको यो यात्रा अति महŒवको छ ।