दार्चुला। दार्चुलामा दुई लाख बढी रकमसहित जुवातास खेलिरहेका १२ जुवाडे पक्राउ परेका छन् ।
सदरमुकाममा रहेको महाकाली नगरपालिका-४ तिंकरखेडाबाट जुवातास खेलिरहेको अवस्थामा २ लाख ३७ हजार ३ सय ९७ रुपैयाँ सहित १२ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।
खलङ्गा बजारमा रहेको प्रेम सिहँ बुढाथोकीको घरमा जुवा भइरहेको छ भन्ने विशेष सुराकीका आधारमा आइतबार साँझ छापाहानेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।जुवाडेहरूको साथबाट ११ थान मोबाइल, १३ गड्डी तास, १ टेबल, १२ कुर्सी, भुइँमा बिछ्याएको फम, खली पसे ७,कुर्सी पलाष्टिको ६ थान,स्टुल पलाष्टिको ४ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका जुवाडेलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याएर सोधपुछ भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले बताए । प्रहरीले जुवाडेहरूको परिचय गोप्य राखेको छ। दसैं, तिहारका बेला रमाइलोका नाममा गाउँदेखि सदरमुकाम क्षेत्रमा जुवातास खेल्ने विकृति बढ्दै गइरहेको छ । प्रहरीले बेला-बेला यस्तै घटनामा जुवाडेहरूलाई पक्राउ गर्ने गरेको छ ।