काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका डडेल्धुरा सभापति कर्णबहादुर मल्ललगायतले सुरु गरेको रिले अनशनका पक्षमा विज्ञप्ति जारी गरेका छन् ।
संस्थापन पक्षले एकलौटी ढंगमा अधिवेशन सम्पन्न गरेको भन्दै जिल्ला सभापति मल्लसहितका नेता कार्यकर्ताले पार्टी कार्यालयमा एक सातादेखि रिले अनशन गरिरहेका छन् । पौडेलले शनिबार साँझ सभापति मल्लका नाममा ‘एक्केबद्धता सम्बन्धमा’ शीर्षकमा पत्र पठाउँदै क्रियाशील सदस्यता विवाद नटुंग्याइ गरिएको वडा अधिवेशनको विरोध पनि गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा २५ भदौमा एकलौटी ढंगले वडा अधिवेशन गरिएको आरोप पौडेल समूह र जिल्ला सभापति मल्ल पक्षले लगाउँदै आएको छ। पौडेल समूहले डडेल्धुरामा पुनः वडा अधिवेशन हुनुपर्ने बताइरहेको छ । संस्थापन पक्षले भने डडेल्धुरामा फेरि वडा अधिवेशन गर्न सम्भव नभएको प्रतिक्रिया दिने गरेका छन् ।
‘बलिया मिच्दै जाने र निर्धाले कहिल्यै न्याय नपाउनु लोकतन्त्रमा लाजमर्दो विषय हो,’ पौडेलको पत्रमा उल्लेख छ, ‘त्यसैले डडेल्धुरामा जुन ढंगबाट स्थानीय अधिवेशन भए त्यसका विरूद्धमा हाम्रो लडाइँ निरन्तर राख्न जरुरी छ ।’ पार्टी कार्यालयमा विगत एक सातादेखि रिले अनसन बसेको सभापति मल्ल पक्षले क्रियाशील सदस्यता विवाद मिलाउनुपर्ने, फेरि वडा अधिवेशन गराउनुपर्नेजस्ता माग राखेको छ ।