डडेल्धुरा। नेपाली काँग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नूपर्ने माग गर्दै पार्टी कार्यालयमा रिले अनशन सुरु गरिएको छ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले मनोमानी रुपमा अवैधानिक रुपमा क्रियाशिल सदस्यता वितरण गरेर जिल्ला कमिटिलाई वाइपास गरेर वडा अधिवेशन गरेकाले बिहीबारदेखि रिले अनसन थालिएको हो। पक्षपातपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरण गरेर आफूहरूको सहभागिता बिना जबर्जस्ती वडा अधिवेशन गराइएको भन्दै उनीहरू बिहीबारदेखि रिले अनशनमा बसेका हुन्।
वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी गराए पनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर अनशनमा बस्नुपरेको डडेलधुरा कांग्रेसका उपसभापति करूणाकर भट्टले बताए। क्रियाशील विवाद टुंगो लगाउन, सम्पन्न भएको वडा अधिवेशनलाई मान्यता नदिनलगायत माग अघि सारेर जिल्लास्थित पार्टी कार्यालयमा उनीहरू अनशनमा बसेका हुन्।
जिल्लाबाट पठाइएको क्रियाशील सदस्यहरूको नाम काटेर पार्टी सभापति देउवाको निर्देशनमा केन्द्रबाट नाम थप गरिएको डडेल्धुरा कांग्रेसका सभापति कर्ण मल्ल, उपसभापति भट्टलगायत पदाधिकारीले आरोप लगाउँदै आएका छन्। क्रियाशील सदस्यता वितरणमा विवाद सिर्जना भएपछि विवाद नटुंगिएसम्म जिल्ला कार्यसमितिले वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेको थियो। तर, निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्णयलाई अटेर गर्दै डडेल्धुरामा भदौ २५ गते वडा अधिवेशन गरेको थियो। यता, जिल्ला सभापति, उपसभापतिलगायत पदाधिकारीले भने वडा अधिवेशन बहिष्कार गरेका थिए।