काठमाडौँ । सरकारले केपी ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ। राजनीतिक आधारमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूताहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ,मन्त्री कार्कीले भने । सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशहरूमा नियुक्त भएका राजदूतहरू फिर्ता हुनेछन् । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदूत महेन्द्र पाण्डे, अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा,जापानमा प्रतिभा राणा राजदूत छन् । राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु हुन् । यी सबै राजदूत अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका हुन् । उनीहरूलाई ओली नेतृत्वको सरकारले सिफारिस गरेको थियो भने देउवा सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो ।