बैतडी। बैतडीमा सवारी दुर्घटनामा घाइते भएका युवाको मृत्यु भएको छ। सवारी दुर्घटनामा घाइते पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशीको उपचारको क्रममा आज मृत्यु भएको हो।
काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा दिउँसो १ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
जोशीले चलाइरहेको भे ७ प ४३४५ नं को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से १ ज ६३४ नं को जिप गएको बुधबार दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ बेडौतीमा ठोक्किएको थियो। दुर्घटनामा सिकिस्त भएका जोशीलाई सोही दिन विमान चार्टर गरी नेपालगञ्ज पठाइएकोमा त्यहाँ उपचार हुन नसक्दा शनिबार काठमाडौं पठाइएको थियो।