धनगढी। सुदूरपश्चिमका नवनियुक्त आर्थिक मामिला मन्त्री तारालामा तामाङ र अर्थ राज्यमन्त्री माया तामाङ बोहराले पदभार ग्रहण गरेका छन्।
शुकबार साँझ मन्त्री पदमा नियुक्त भए लगत्तै आर्थिक मामिला मन्त्री तामाङ्ग र अर्थ राज्यमन्त्री बोहराले मन्त्रालयमै पुगेर पदभार ग्रहण गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा नव नियुक्त मन्त्रीहरू तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगा प्रसाद यादव र राज्यमन्त्री राज्यमन्त्री माया तामाङ बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ गराएका थिए ।
लगत्तै दुवैले मन्त्रालय पुगेर पदभार सम्हालेका छन्। तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् । सुदूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ ।
पार्टी विभाजनपछि पनि एमालेमै रहने निर्णय गरेका तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले र अर्थराज्य मन्त्री अर्चना गहतराजले राजीनामा दिएपछी ती दुबै पद खाली रहेको थियो । माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादी सहभागी छ। प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका १र१ सांसद छन्।