धनगढी। सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुई जना मन्त्री नियुक्त गर्ने तयारी भएको छ।
मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री नियुक्त गर्ने तयारी थालिएको छ । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा साझ ६ः ३० बजे सपथ ग्रहण गराउने तयारी थालिएको प्रदेश सरकारका एक जना मन्त्रीले जानकारी दिए ।
तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् । तामाङ तत्कालीन नेकपाका प्रमुख सचेतक समेत थिए । उनलाई एमालेको अनौपचारिक विभाजनका बेला गत जेठमा मन्त्रिपरिषद् विस्तार हुँदा पदबाट हटाइएको थियो । बोहरा एमाले विभाजनका बेला अध्यक्ष ओलीको पक्षमा खुले पनि २१ भदौमा एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् ।
विभाजन भएर एकीकृत समाजवादी बनेपछि एमाले संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका थिए । सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । एकीकृत समाजवादीका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र दुई जना राज्यमन्त्री यसअघि नै प्रदेश सरकारमा छन् ।