काठमाडौँ – सरकारले सुकुम्बासी समस्या समाधानका लागि नयाँ आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गर्दै आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्कालाई नियुक्त गरेको हो ।
निरौला र खड्काले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन्। आयोग र अन्य पदाधिकारीका विषयमा अहिले धेरै जानकारी नभएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरु समाधान गरिने बताए ।
उनले दलित भूमिहीन र भूमिहीन र अव्यवस्थित बसोवासीहरुको समस्या समाधान गरिने बताए । उनले सुकुम्बासीको नाममा धेरै समस्याहरु रहेको भन्दै यी सबै समाधान गरिने बताए ।अध्यक्ष नियुक्त भएका निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य थिए । उनी नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष समेत हुन् । यसअघि केपी ओली नेतृत्वको सरकारले देवी ज्ञवालीको अध्यक्षतामा सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि १९ साउनमा सो आयोग खारेज गरेको थियो । ज्ञवालीले नेतृत्वको आयोगले ७७ जिल्लामा काम सुरु गरेको थियो ।