धनगढी। प्रतिनिधिसभा विघटनपछि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कैलालीमा गठन गरेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा परिणत भएको छ ।
शुक्रबार धनगढीमा बसेको समानान्तर कमिटीको बैठकले यसअघि संसद विघटनको विरोध गर्न गठन गरिएको समानान्तर कमिटीलाई नेकपा एकीकृत समाजवादीमा परिणत गर्ने निर्णय गरेको कमिटीका सचिव विमल जोशीले बताए । माधव समूहले कैलालीमा १ सय ५१ सदस्यीय समानान्तर कमिटी गठन गरेको थियो ।
कमिटीका अध्यक्ष एमालेका तत्कालीन जिल्ला अध्यक्षसमेत रहेका दीर्घ सोडारी बनेका थिए । सोडारीको नेतृत्वमा एमालेको नवौं महाधिवेशनबाट ९६ सदस्यीय कमिटी निर्वाचित भएको थियो । सोडारी एमालेबाट प्रदेशसभा सदस्य बन्दै भौतिक पूर्वाधार मन्त्री छन् । निर्वाचित अध्यक्ष नै नेकपा (एकीकृत समाजवादी) मा लागेपछि एमालेका अधिकांश पदाधिकारीसमेत सोही पार्टीमा लागेका छन् ।
एमाले कैलालीका ९६ मध्ये ५६ जना कार्यसमिति सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । एमाले कैलालीमा सोडारीबाहेक निर्वाचित उपाध्यक्ष, सचिव र उपसचिव भने एमालेमै रहेका छन् । एमालेमा विवाद हुँदा सोडारीको नेतृत्वमा बनेको समानान्तर कमिटी नै नेकपा (एकीकृत समाजवादी) मा आएको सचिव जोशीको दावी छ ।
समानान्तर कमिटीलाई नेकपा (एकीकृत समाजवादी)मा परिणत गरिएसँगै शुक्रबार नै नेकपा (एकीकृत समाजवादी) को प्रथम जिल्ला बैठक बसेको छ । केन्द्रीय सदस्य माया भट्टको प्रमुख आतिथ्यतामा भएको बैठकमा पुराना नेता दिनेशचन्द्र सुवेदी, हनुमान चौधरी, तत्कालीन एमालेका प्रदेश कमिटी सदस्य लक्ष्मण कुँवर, कलावती जोशी, हिक्मत कुँवर लगायतको उपस्थिति रहेको थियो ।