डडेल्धुरा। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आजै काँग्रेसको वडा अधिवेशन गर्ने तयारी गरीएको छ ।पार्टी सभापति शेरबहादुर देउवा पक्ष र जिल्ला सभापति कर्ण मल्ल पक्षले आ-आफ्नै अडानका बिच डडेल्धुरामा काँग्रेसको वडा अधिवेशन आज गर्ने तयारी गरीएको हो।
जिल्ला निर्वाचन समितिले विवादका बीच डडेल्धुरामा नेपाली काँग्रेसको वडा अधिवेशन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। डडेल्धुराका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी सम्बन्धित वडामा निर्वाचन सामाग्री पठाइसकिएको जानकारी दिँदै वडा अधिवेशनका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको बताए। ‘विहान ८ बजेदेखि नै अधिवेशन सुरु उनले जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्लाको अधिवेशन सार्ने सार्वजनिक अभिब्यक्ति दिए पनि निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बिहीबार एक विज्ञप्ती प्रकाशितगर्दै शुक्रबार (आज)निर्धारित वडा अधिवेशन नरोकिने दाबी गरेका थिए।
उनले सबै वडामा निर्वाचन सामाग्री पुगिसकेको र मतदान अधिकृत खटाई सकेकाले अधिवेशन स्थगित नहुने जिकिर गरेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए। ‘अधिवेशन गर्ने र नगर्ने विषयमा दुई समूहबीच विवाद देखिएको छ,’ नेपालले भने, ‘निर्वाचन समितिले अधिवेशन गर्ने निर्णय गरेपछि सुरक्षा व्यवस्था कडा पारेका छौँ। सुदूरपश्चिमका अन्य जिल्लाबाट पनि सुरक्षाकर्मी बोलाएर खटाएको जानकारी दिए ।
नेपाली काँग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले वडा, पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रीय समितिकासाथै जिल्ला कार्यसमिति गरेर चार तहबाट क्रियासिल सदस्यहरुको नविकरण र नयाँ सदस्यताका लागि निर्णय गरेर केन्द्रमा पठाए पनि केन्द्रबाट ४ सय ६० जनाको नाम काटेर नाम नपठाएका ३ सय १२ जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो । यता नेपाली काँग्रेस डडेल्धुराले विधि र पद्दती मिचेर मतदाताका रुपमा रहेका क्रियासिल सदस्य मात्रै नभई जिल्लादेखि वडास्तरका उम्मेदवारहरु समेत केन्द्रबाटै तोकेर उनीहरुलाई जिताउने दुराषयले मतदाता नामावली सार्वजनिक भएको भन्दै सदस्यता विवादको टुंगो नलागेसम्मका लागि अधिवेशनका कार्यक्रम स्थलगन गर्ने निर्णय गरेको छ ।
जिल्ला कार्यसमितिको निर्णय विपरित मतदान अधिकृत बमले एकलौटी रुपमा निर्वाचनको कार्यतालिका सार्वजनिकगर्दै प्रकृया अघि बढाएका छन भने नेपाल प्रहरीको तालिम केन्द्र र दंगा प्रहरी गणबाट ठुलो संख्यामा प्रहरी डडेल्धुरा झिकाईएको छ । प्रहरीको बलमा सत्ताको दुरुपयोग गर्दै पार्टीको अधिवेशन गरिनु निकै दुभाग्र्य भएको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताहरुले तिब्र रोष ब्यक्त गरेका छन । नेपाली काँग्रेस डडेल्धुराले स्थगित वडा अधिवेन एकलौटी रुपमा अवैधानिक किसिमले अघि बढाईनु निकै दुर्भाग्य भएको जनाएको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले गृहजिल्लामा उत्पन्न विवादको समाधान गरेर मात्रै जिल्लामा अधिवेशन अघि बढाईने भने पनि एकपक्षीय रुपमा निर्वाचनको प्रकृया थालिएकोले वहिष्कार गरिने नेपाली काँग्रेस डडेल्धुराका पुर्व सचिव लोकराज भट्टले बताए । उनले लोकतन्त्रका लागि लडेको पार्टीमा अलोकतान्त्रिक कृयाकलापहरु भईरहेको बताउँदै यस किसिमका कृयाकलापहरुको सामना गर्न सबै काँग्रेसजनलाई अपिल गरेका छन् । नेपाली काँग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टले क्रियासिल सदस्यता विवादको टुंगो नलगाएर एकपक्षीय रुपमा वडा अधिवेशनको प्रकृया अघि बढेमा बहिष्कार गर्न सम्पुर्ण क्रियासिल सदस्यहरुलाई आग्रह गरे । उनले विधान विपरित जिल्ला कार्यसमिति, प्रदेश, स्थानीय तह र वडा कार्यसमितिलाई वेवास्ता गरेर निर्वाचन प्रकृया अघि बढेमा सामानान्तर कार्यसमिति गठन गरेर अघि बढनुको विकल्प नभएको जिकिर गरे ।