धनगढी। कैलाली र कञ्चनपुरमा ११६ जनप्रतिनीधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन । कैलालीबाट निर्वाचित ६५ जना जनप्रतिनीधिले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन् ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार दल रोज्ने अन्तिम दिन मंगलबार बेलुका ५ बजेसम्म ६५ जनाले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन् । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार जिल्ला समन्वय समिति कैलालीकी उपप्रमुख सुन्दरीदेवी चौधरी, गोदावरी र घोडाघोडी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत र प्रेमाकुमारी चौधरी तथा मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगरसहित १२ जना वडा अध्यक्षले सनाखत गरेका छन् ।
सनाखत गर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर २, ५ र ७ का वडा अध्यक्ष क्रमसः जनक साउँद, जंग विक, दलबहादुर कुमाल, घोडागोडी नगरपालिका वडा नम्बर ४, ७ र १० का वडा अध्यक्ष त्रमसः टेकबहादुर बुढा, धनबहादुर बम, भिम बम, गोदावरी नगरपालिका वडा नम्बर ५ र ११ का वडा अध्यक्ष क्रमसः कर्ण सिह बोहरा र शिव बिक, लम्कीचुहा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुर्ण बिष्ट, टीकापुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गंगाराम आचार्य, मोहन्याल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टेकेन्द्र बोगटी र धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राम बजारी चौधरीले सनाखत गरेका छन् ।
निर्वाचन कार्यालयका अनुसार कैलालीका ३७ जना वडा सदस्य र ९ जना कार्यपालिका सदस्यले पनि एकीकृत समाजवादी रोजेका छन । कैलालीका ६ स्थानीय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेबाट निर्वाचित भएका थिए भने एउटा स्थानीय तहमा प्रमुख मात्र छन् । यस्तै, कञ्चनपुरमा ५१ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेको छन् । निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन थापासहित ११ वडाध्यक्ष र ३९ जना सदस्यले समाजवादी पार्टीमा सनाखत गरेका छन् । यसअघि नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुरेन्द्र चौधरी, वडा नम्बर ९ का अध्यक्ष छत्रबहादुर महरा र वडा सदस्य हजरसिंह कुवँरले सनाखत फिर्ता लिन आयोगमा निवेदन दिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।