कञ्चनपुर। नेकपा एमाले विभाजनपछि कञ्चनपुरका स्थानीय तहका ५१ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेको छन् । मङ्गलवार सनाखतको अन्तिम दिनसम्ममा ५१ जनप्रतिनिधिले समाजवादी रोजेका हुन् ।
निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार एक जना नगर प्रमुखसहित ११ वडाध्यक्ष र ३९ जना सदस्यले समाजवादी पार्टीमा सनाखत गरेका छन् । अध्यक्ष माधव कुमार नेपालको समाजवादीमा पुनर्वास नगरपालिकाका मेयर जीवन थापाले मात्रै सनाखत गरेका छन् । ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले ५ वटा स्थानीय तहमा प्रमुख र ७ वटा स्थानीय तहमा उपप्रमुख जितेको थियो । तीमध्ये अधिकांश प्रमुख र उपप्रमुख नेकपा एमालेको फुटको विपक्षमा उभिएका छन् ।
तीन जनाद्वारा सनाखत फिर्ताका लागि निवेदन
नेकपा समाजवादी पार्टीमा सनाखत गरेका तीन जनप्रतिनिधिले सनाखत फिर्ता लिएका छन् । कृष्णपुर नगरपालिका–३ का वडाध्यक्ष सुरेन्द्र चौधरी, ९ का वडाध्यक्ष छत्र बहादुर महरा र वडा सदस्य हजर सिंह कुँवरले सनाखत फिर्ता लिन आयोगमा निवेदन दिएको छन् ।
मङ्गलवार जिल्ला निर्वाचन कञ्चनपुरमा पुगेर उनीहरूले सनाखत फिर्ता लिँदै मूल पार्टीमै फर्केका छन् । आयोगले उनीहरूको सनाखत फिर्तालाई मान्यता दिएमा जिल्लामा समाजवादी रोज्ने स्थानीय तहका जनप्रतिनिधिको सङ्ख्या ४८ पुग्नेछ ।