काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् ।
एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी)बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए । राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ । राजीनामा पत्र बुझाउँदै गौतमले एमालेका नेताहरुसँग व्यक्तिगत सम्बन्ध रहे पनि राजनीतिक रुपमा एमालेमा अब रहन नसक्ने बताएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
ओलीमाथि के-के छन् गौतमका आरोप हेर्नुहोस्
राजीनामा पत्रका गौतमले एमाले अध्यक्ष ओलीमाथि नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै अवलम्बन नगरेको आरोप लगाएका छन् । प्रधानमन्त्री भएपछि वाम गठबन्धन (एमाले र माओवादी केन्द्र) को घोषणा पत्रलाई पनि लागू नगरेको भन्दै उनले भनेका छन्, ‘तपाईले गर्नु भएको कामहरुलाई पटक(पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईले आफूलाई सुधार गर्न सक्नुभएन ।’
जनताको बहुदलीय जनवाद (जबज) तथा मदन भण्डारीको विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नगरेको तथा झण्डै दुई तिहाईको जनादेशलाई लत्याएर दुई पटक संविधान विपरित संसद भंग गरेको गौतमको आरोप छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, विाधन र संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रीयता’ र ‘सामुहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी’लाई पालना नगरेको उनको आरोप छ ।
कार्यशैली सुधार गर्न आफूले पटक(पटक सुझाव दिएको भन्दै गौतमले राजीनामा पत्रमा भनेका छन्, ‘तर तपाईँ सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’ आफ्नो गलत नीति र विचार अनुसार नचल्दासमकक्षी नेताहरुलाई एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निस्कासनसम्म गर्ने स्वेच्छाचारी तथा निरंकुश शैली अंगालेको गौतमको आरोप छ । गौतमले एमाले अध्यक्ष ओलीलाई भनेका छन्, ‘तपाईले आफ्नो स्वेच्छाचारी तथा सर्वसत्तवादी नीति र निर्णय गर्न राष्ट्रपतिलाई समेत दुरुपयोग गर्नुभयो ।’