काठमाडौँ। दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । मंगलबार साँझ गृहमन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदनमा के छ भन्ने विषय औपचारिक रुपमा खुलाइएको छैन । तर घटना भारतीय भूमिमा भएको र त्यसको औपचारिक अनुसन्धान गर्न नेपालतर्फबाट कानुनी जलिटला रहेको विषय समेटिएको उच्च स्रोतले जनाएको छ । यस सम्बन्धी संक्षिप्त बेहोरासहितको विवरण केही बेरमा सार्वजनिक गरिने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
२०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । उनको अवस्था अहिलेसम्म अज्ञात छ । तुइनबाट भारतीय भूमि गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट महाकाली पार गर्नै लाग्दा ‘भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले लट्टा खुस्काइदिएपछि’ बेपत्ता भएका थिए। गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवेदन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए।
कार्यान्वयनका लागि मंगलबारबाटै प्रक्रिया अघि बढाउन गृहसचिव टेकनारायण पाण्डेलाई उनले निर्देशन दिएका छन् । प्रतिवेदन आगामी दिनका लागि मार्गदर्शक बन्नेमा आफू आशावादी रहेको उनले बताए । स्थानीयले मालघाटमा एसएसबीले तुइन फुस्काउँदा धामी बेपत्ता भएको बताए पनि भारतीय पक्षले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सो घटनामा एसएसबीको संलग्नता नभएको जिकिर गरेको छ । यस्तो छ जयसिंह धामी बेपत्तापछिको घटनाक्रम
साउन १५ गते- भारतीय सुरक्षाकर्मीले तुइन काटेपछि दार्चुला ब्यासका ३३ वर्षका जयसिंह धामीको महाकाली नदीमा खसेर बेपत्ता ।
साउन १७ गते-सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन, १० दिनको समय ।
साउन १९ गते- प्रतिनिधि सभाको बैठकमा सांसदहरूको गृहमन्त्री बालकृष्ण खाँणसँग सांसदहरूको सवाल जवाफ, संसदीय छानबिन समिति बनाउन माग ।
साउन १९- छानबिन समिति अनुसन्धानका लागि छानबिन टोली खलङ्गामा ।
साउन २१ गते- भारततर्फको घटनास्थलको अवलोकन ।
साउन २२ गते-नेपालतर्फको घटनास्थल, मालघाटको अवलोकन ।
साउन २५ गते- छानबिन समितिको म्याद एक साताका लागि थप ।
भदौ १ गते- पुनः एक साताका लागि म्याद थप ।
भदौ ५ गते-अनुसन्धान संयोजक काठमाडौँ फिर्ता ।
भदौ १० गते-संसद्को राज्य व्यवस्था सुशासन समितिद्वारा गृहमन्त्री बालकृष्ण खाँणलाई घटनाको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न निर्देशन ।
भदौ १० गते-मन्त्रिपरिषद्को बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय ।