कञ्चनपुर। महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको बनबासा पुलमा आवागमन बन्द गरिएको छ ।
पहाडी क्षेत्रमा लगातार भएको अविरल वर्षासँगै भारतले धौलीगंगाको बाँध खोलेपछि महाकालीमा पानीको बहाव बढेपछि शुक्रबार बिहानदेखि सवारी साधन आवागमन बन्द गरिएको हो । प्रहरीका अनुसार महाकाली नदीमा आज शनिबार बिहानसम्म पानीको बहाव १ लाख ५ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।
शुक्रबार साँझ पानीको बहाव १ लाख ६७ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको थियो । झण्डै सय वर्षअघि बनेको बनबासा पुल जीर्ण भएका कारण पानीको बहाव १ लाख क्युसेक प्रतिसेकेन्ड नाघ्नेबितिक्कै सवारी साधन आवागमन बन्द गरिन्छ । यस पटक ठूला सवारीसाधन मात्रै नभई साइकल र मोटरसाइकल आवागमनसमेत बन्द गरिएको प्रहरीले जनाएको छ ।