काठमाडौं। जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका महन्थ ठाकुरलाई अन्ततः जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको साथ मिलेन ।
लोसपाका नेताहरुले बुधबार रेशम चौधरीले आफूहरुको पक्षमा सनाखत गरेको दाबी गरे पनि निर्वाचन आयोगले त्यस कुराको इन्कार गरेको छ । आयोगले रेशम चौधरीको सनाखत नभएको बताएको छ । दल दर्ताका क्रममा सनाखत गर्नका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित भएर हस्ताक्षर गर्नुपर्ने व्यवस्था रहेकोमा रेशम चौधरी आयोगमा उपस्थित भएनन् ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘पार्टी दर्ताका लागि निवेदन दिएका सदस्यहरु आयोगमा उपस्थित भएर हस्ताक्षर गर्नुपर्ने हुन्छ । लोकतान्त्रिक समाजवादी पार्टीमा रेशम चौधरीको सनाखत भएको छैन । उहाँहरुको १६ जना केन्द्रीय कार्यकारिणी सदस्य र १४ जना सांसदको सनाखत भएको छ । रेशम चौधरी अनुपस्थित हुनुभएको छ ।’ लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले भने रेशम चौधरीको सनाखत कारागारबाटै आएको बताए ।
उनले भने, कारागारका प्रमुखको उपस्थितिमा रेशम चौधरीले हस्ताक्षर गरेको पत्र निर्वाचन आयोगमा आइपुगेको छ, त्यसलाई आयोगले मान्यता दिएको छ ।’ रेशम चौधरी सांसदबाट निलम्बित भएको हुनाले उनको सनाखत सांसदको रुपमा नभएर कार्यकारिणी सदस्यमा भएको उनले दाबी गरे । लोसपाले १५ जना सांसदको नामावली पेस गर्दा त्यसमा रेशम चौधरीको नाम पनि समावेश गरेको थियो । त्यसपछि आयोगले संसद सचिवालयलाई रेशम चौधरीको बारेमा जानकारी माग गर्दा उनी निलम्बित सांसद रहेको जानकारी प्राप्त गरेको थियो । त्यसपछि लोसपाका १४ जना सांसद मात्र कायम भएका छन् । आयोगमा लोसपाको सनाखतको तयारी चलिरहँदा जसपाका दुईजना सांसद रेशम चौधरीलाई भेट्न कारागार गएका थिए ।
भेटमा रेशम चौधरीले आफू जसपामै रहेको बताएका थिए । एकदिन अगाडि लोसपाका अध्यक्ष महन्थ ठाकुर आफै हस्ताक्षरका लागि कारागार पुगेका थिए । तर, चौधरीले हस्ताक्षर गर्नका लागि इन्कार गरेका थिए । चौधरीले आफू जसपा लोकतान्त्रिकका सनाखत गर्न तयार थिए । तर, अब लोसपा भएका कारण आफू हस्ताक्षर नगर्ने भन्दै अध्यक्ष ठाकुरलाई कारागारबाट फर्काएको चौधरीलाई भेटेर फर्केका ती सांसदले बताए । रेशम चौधरी जसपाको कार्यकारिणी सदस्य छन् । आधिकारिताका लागि भएको मतदानको समय रेशम चौधरी तटस्थ बसेका थिए । उपेन्द्र यादवले जसपाको आधिकारिता पाइसकेपछि रेशम चौधरीले आफू जसपामा रहेको बताएका थिए । त्यसपछि जसपाले उनलाई कार्यकारिणी सदस्यमा राखेको छ । महन्थ ठाकुर पक्षले लोसपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिँदा चौधरीको नाम हालेर पनि दिएका थिए । तर, बुधबार चौधरीले लोसपाका लागि सनाखत गर्न इन्कार गरे ।