कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ र १२ ऐरी क्षेत्रमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको सडक सर्वसाधारणका लागि बन्द हुने भएको छ।
पछिल्लो समय चर्चित बनिरहेको ‘भाइरल रोड’मा टिकटक, भिडियो र फोटो खिच्न आउने भीड बढेको भन्दै उक्त सडक जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रोक लगाएको हो। आज जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायबीच सम्पन्न भएको बैठकले आगामी आइतबारदेखि उक्त सडकमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले बताए।
उक्त सडकमा लाग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको भिडका कारण कोरोनाको जोखिम बढीरहेका कारण रोक लगाउने निर्णय गरिएको हो । ‘कैलाली र कञ्चनपुर लगायत अन्य स्थानबाट सर्वसाधारणहरु आएर भिड लाग्ने, निमार्णाधीन चार लेनको पक्कीको योजना पनी प्रभावीत बनेको, निषेधाज्ञा लागू नै भएको अवस्थामा कोरोनाको जोखिमलाई मध्य नजर गर्दै आम सर्वसाधारणहरुलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको उनले जानकारी दिए।
साथै कोरोना संक्रमणको जोखिमसंगै मदिरा तथा लागूऔषध सेवन गरि दिनहुँ झै–झगडा हुने, निर्माणाधीन पुल तथा सडकको काम प्रभावित बनेको र छेउमै रहेको महाकालीमा पुरुष बेपत्ता भएको घटनाका कारण अर्को आदेश नआएसम्म सडकमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। पछिल्लो समय दैनिक ३ देखि ४ हजार पर्यटक उक्त स्थानमा पुग्ने गरेका छन्। त्यो संख्या सार्वजनिक बिदाका दिन दोब्बर हुने गरेका छन्। सोमबार मात्रै भाइरल रोडको छेउमै रहेको महाकाली नदीमा भीमदत्त १२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी बेपत्ता भएका थिए। उनले सोमबार महाकालीमा हाम फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।