बाजुरा। बर्खायाममा साँफे-मार्तडी सडक खण्ड ठप्प हुने गरेका छन् । बाजुरा जिल्ला सदरमुकाम जोड्ने मुख्यसडकहरु बर्षादमा ठप्प भएसंगै आवत जावतमा सास्तीसँगै उपभोग्य बस्तुको मूल्य आकासिएको छ ।
यसपटक पनि जेठ देखि नै वर्षासुरु भएसँगै सडक अवरुद्ध भएका छन्। बाजुराको त्रिवेणी नगरपालिका–९ पैमामा भीरबाट पहिरो आएर बुढीगंगा नदी थुनिने गरेका कारण सडक बगाएर अवरुद्ध भएको छ । यस्तै बुढीगंगा नगरपालिकाको बल्देबाट बडिमालिका नगरपालिकाको सिमाना हरडे खोलासम्म सडक भत्किएको छ। उक्त क्षेत्रमा ३ महिना देखि सडक ठप्प हुँदा एक किलोमिटर सडकको नामोनिसाना समेत छैन्।
गत चैतमा जिल्ला प्रशासन लगायत विभिन्न निकायले कुनै पनि हालतमा बर्खामा सडक बन्द नहुने बताएपनि सडक सुचारु गर्नका लागि कुनै पनि निकायको ध्यान पुग्न सकेको छैन्।६ महिना सम्म सदरमुकाम मार्तडीको यातायात सेवा ठप्प हुने गरेपनि पहल नगरेको बाजुरावासीहरुको गुनासो छ। साँफे–मार्तडी सडक अन्र्तगत तिपाडा देखि ओम्कोट सम्म पुरै भाँसिएको छ। यो क्षेत्रमा मात्र नभएर साँफे–मार्तडी सडक खण्डको बार्जुगाडदेखि मार्तडीसम्म दर्जनौं ठाउँमा पहिरो खसेको छ। अम्कोट र द्वारी क्षेत्रमा माथिबाट निरन्तर खस्ने पहिरो र तलबाट बूढीगंगाको कटानले पैदल आवागमन पनि जोखिमपूर्ण बन्दै गएको छ।
चार वर्षअघि झन्डै ७० करोडको लागतमा निर्माण भएको सडक कतिपय ठाउँमा नामोनिसान नै मेटिएको छ। पहिरोकै कारण अम्कोट र द्वारीको पहिरोले दर्जनौँ बस्तीहरु समेत जोखिममा छन्। बुढीगंगा नगरपालिका–२ का पवित्रा विकले सदरमुकाम स्थायी रुपमा निर्माणका लागि कुनै पहल नभएको भन्दै आक्रोस पोखिन्। ‘दुई बर्ष अगाडि तहनहस भएको सडक ६ महिनासम्म अवरुद्ध भयो। हिउँदे याममा सामान्य ट्रयाक खोल्ने काम वाहेक केहि हुन सकेन’, उनले भने। ‘निर्माण सम्पन्न भएको छोटो समयमै सडक नामोनिसाना नै नरहने गरी भत्कीएको हो।’
बूढीगंगा नदीको वारि अम्कोट र पारि पैमा गाउँतर्फ झन्डै १५ हेक्टर जमिन सखाप छ। बर्षायाममा पहिरोको चर्चा भए पनि अन्य समयमा भने वेवास्ता हुने गरेको छ। बाजुरा त्रिविणी नगरपालिका–९ पैमा घर भएका भानुभक्त पाध्याले बाजुरा र अछामको मध्यभाग भएर बग्ने बूढीगंगा नदीले धेरै क्षति पु¥याएको बताए। ‘उनले पैमाको पहिरोले साँफे–मार्तडी सडकलाई पनि असर गरेको छ। पारी पहिरो खस्ने वारी तर्फ नदी हानिने हुँदा अम्कोट क्षेत्र पुर दरा परीसकेको छ।’, उनले भने। ‘बाजुरा सदमुकाम जोड्ने सडकका लागि केन्द्र सरकारको पहल विना कुनै पनि काम हुन सक्ने छैन्।’
बर्खामा समानको मूल्य अकासिन्छ
सडक अवरुद्ध भएका कारण मार्तडी कोल्टी सहितका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बर्खामा किने नसक्नु हुन्छ। पहिरो गएको क्षेत्र नजिक ताप्रीसेराबाट भरिया र खच्चरबाट सामान ढुवानी गर्नुपर्ने भएकाले उपभोग्य सामानको मूल्य बढ्ने गरेको व्यवसायहरु बताउने गरेका छन्। ‘किलोको १० रुपैयाँ महँगोमा ढुवानी गर्नुपरेको छ, त्यसैले मूल्यवृद्धि भएको छ,’ व्यापारी हंसबहादुर सिंह भन्छन्, ‘पहिलेको स्टक सामन सकियो अहिले ढुँवानी भाडा महँगो पर्ने हुँदा भाउ बढेको हो ’
बिरामी लाई झनै सास्ती
सडक अवरुद्ध भएपछि सर्वसाधारणले हिँडेर तीन किलोमिटर सडक पार गर्ने गरे पनि बिरामीलाई समस्या हुने गरेको छ। बिरामीका आफन्तले दुई्दुईवटा एम्बुलेन्सको व्यवस्था गर्नुपरिरहेको छ। बाजुराको जिल्ला अस्पताल र कोल्टी अस्पतालले रेफर गरेका बिरामीलाई बाहिर लैजान साह्रै समस्या भएको जनस्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्त बताउन्छन्। ‘बिरामीका आफन्त समस्यामा छन, रेफर गरे पनि ठूला अस्पतालसम्म लैजान समस्या छ’, पन्त भन्छन् ‘अझ जिल्ला अस्पताललाई चाहिने औषधि ढुवानीमा समस्या आएको छ।
पहिरोले नेता नभन्दा हातमा जुता बोकेर पैदल यात्रामा एमाले अध्यक्ष कर्ण थापा
साँफे–मार्तडी सडक अन्र्तगत बल्देमा गएको पहिरोमा यातायात सञ्चान हुन नसकेपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा पहिरोमा हातमा जुत्ता बोक्दै सदरमुकाम पुगे। बाजुराबाट राजनीति गर्नेहरु तथा जनप्रतिनिधिहरुले केन्द्रमा पहल गर्न नसकेको वेला वेला आरोप समेत लाग्ने गरेको छ।
प्रदेश अध्यक्ष थापा नेकपा एमाले जिल्ला कमिटी बाजुराको केही दिन अघि भएको विस्तारित बैठकमा सहभागि हुन एक वर्षपछि बाजुरा सदरमुकाम मार्तडी आईपुगेका हुन्। गत वर्ष बुढीगंगा नदिमा आएको बाढीका कारण बाजुरामा धनजनको क्षति भएपछि तत्कालिन गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको नेतृत्वमा बाजुराका बाढीपीडितको अवस्था बुझ्न हेलिकप्टर मार्फत नेता थापा समेत बाजुरा पुगेका थिए।