धनगढी। थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलालीमा विरोध प्रदर्शन गरेको छ । टीकापुर घटना भएको छैठौं वर्षको अवसरमा मोर्चाले सोमवार कैलालीको बलियामा टीकापुर विरोध दिवससँगै प्रदर्शन गरेको छ । भदौ ७ र ८ गतेलाई कालोदिनको रूपमा मनाउँदै आएको मोर्चाले भल्का चोकदेखि बलिया चोकसम्म विरोध प्रदर्शन गरेको हो ।
टीकापुर मुद्दा खारेज गरिनुपर्ने, कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित निलम्बित सांसदसहित राजबन्दीलाई विना शर्त रिहा गरिनुपर्ने, राज्यको हरेक निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने, कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट प्रदेश कायम गरिनुपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै प्रदर्शन गरिएको थियो । कोण सभामा मोर्चाका नेताहरूले अधिकारको लडाइँ जारी राख्ने बताएका थिए ।कार्यक्रममा थरुहट नेत्री सुशीला चौधरी, पूर्व सभासद् कृष्णबहादुर चौधरी, गयाप्रसाद कुश्मी, थारु कल्याणकारिणी सभा कैलालीका क्षेत्रीय सभापति लौटन चौधरी, मोर्चाका कैलाली संयोजक माधव चौधरी लगायतले सम्बोधन गरेका थिए । संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा १ नाबालक र ७ प्रहरीको ज्यान जाने गरी टीकापुर घटना घटेको थियो । त्यसको भोलिपल्ट भदौ ८ गते करफ्यू जारी गरिएको अवस्थामा थारु समुदायका ८० भन्दा बढी घर, पसल, एफएमलगायत संरचनामाथि आगजनी गरिएको थियो ।
२०७२ भदौ ७ मा भएको उक्त हिंसात्मक घटनामा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्र प्रहरीका २ र १ बालकसहित ८ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द रहेका थिए । यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको समेत सो घटनामा मृत्यु भएको थियो ।यसैगरी, हिंसात्मक झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको थियो । उनी सहायक हबल्दार नेत्र साउदको छोरा हुन् ।