अहिले यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। यही भावुक तस्विर हो जुन शुक्रबार देखी सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ । तस्बिरमा एक अचेत अवस्थामा रहेकी आमाको काखमा एउटा नाबालकलाई देख्न सकिन्छ। उक्त तस्बिरमा रहेकी महिलाको नाम हो धर्माकुमारी बटाला।
२८ वर्षीया बटालाको माइतीघर डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ३ गुनपालमा हो। उनले रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ का दलबहादुरसँग बिहे गरेकी थिइन्। रुकुम(पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटला (सुन्दरपानी)की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको नाबालक छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढिन्। बस चढेपछि धर्माकुमारीले त्यसको जानकारी श्रीमानलाई दिइन्।
बाँकेको नेपालगञ्जमा रहेका श्रीमान दलबहादुर बटालासँग सल्लाह गरि उपचारका लागि भनेर धर्माकुमारी नाबालक छोराको साथ बस चढेकी थिइन्। साउन ४ गतेदेखि नेपालगञ्जमा बस्दै आएका दलबहादुरका बिल्डिङ सम्बन्धि ठेक्कापट्टाको काम गर्छन्। ‘घरमा आमा छोरा मात्रै बस्थे। उपचार गर्न नेपालगञ्ज जाने भनेर धर्माकुमारीले घर धन्दाको काम बिहीबार दिउँसो सबेरै सकिन्। आफू फर्केर नआउँदासम्म घर रेखदेख गरिदिने आफन्त र छरछिमेकलाई मिलाइन्’, दलबहादुरले भने, ‘भिडियो एक्सरे गर्दा पनि मेरो नर्मल अवस्था देखाएको छ, भन्ने गर्थिन् ।’श्रीमान दलबहादुरका अनुसार धर्माकुमारीले जिल्लाकै अस्पताल र मेडिकलमा उपचार गराएकी थिइन्। केही दिन पहिले मात्रै सल्लेका मेडिकल पुगेर उपचार गराएकी थिइन्। उनीहरुकै सल्लाहमा औषधी सेवन गरिरहेकी थिइन्। तर, विशेक भएन। त्यसैले श्रीमान दलबहादुरले थप उपचारका लागि नेपालगञ्ज बोलाए।
दलबहादुरका अनुसार धर्माकुमारी मुटुको बिरामी थिइन्। प्रेसर हाइ र लो हुने समस्या पनि थियो। त्यसअगाडि उनले उपचारका लागि झन्डै चार लाख खर्चिएका थिए। ‘उनको माइती डडेलधुराबाट पनि उपचारमा सहयोग भएको हो र मैले पनि श्रीमतिको उपचार गर्दै आएको थिएँ,’ दलबहादुरले भने। धारापानी भन्ने ठाउँमा दलबहादुरले फेरि श्रीमति धर्माकुमारीलाई फोन गरे। त्यतिबेला पनि धर्माकुमारीले श्रीमान दलबहादुरलाई आफ्नो अवस्था सामान्य रहेको र आरामले यात्रा गरिरहेको तथा बसमा अरुपनि मानिसहरु रहेको हुँदा चिन्ता नगर्न आग्रह गरिन्। त्यसपछि फोन सम्पर्क हुन सकेन। रात छिप्पीसकेको हुँदा दलबहादुर पनि श्रीमतिलाई शुक्रबार बिहान नेपालगञ्जमा भेट्ने मिठो कल्पनाका साथ सुते ।
तर दलबहादुरको नेपालगञ्जमा भेट्न मिठो कल्पना पुरा हुन सकेन । उपचारका लागि गाउँबाट नेपालगञ्ज जानेका क्रममा उनले बसमै ज्यान गुमाएकी थिइन् । धर्माकुमारी चढेको बसमा उनकै सिटको अर्को सिटमा २७ वर्षीय अर्जुन केसी पनि यात्रारत थिए। धर्माकुमारी छोरासँगै बसेकी थिइन्। वान्ता हुन थालेपछि धर्माकुमारीले केसीसँग पोलेथिनको झोला मागिन्। त्यसपछि उनले आफूलाई अगाडिको सिटमा बस्ने प्रबन्ध मिलाई दिन केसीलाई आग्रह गरिन्। केसीले आफू बसेको झ्याल नजिकको २ नम्बर सिट धर्माकुमारीका लागि छोडिदिए। सिटमा आमा छोरा एक्लै बसे। केसी १ नम्बर सिटमा एक्लै बसे। बोटेचौर भन्ने ठाउँमा आइपुगेपछि धर्माकुमारीले दुईरतीन पटक वान्ता गरिन्। तर, उनी त्यसपछि सामान्य अवस्थामा सिटमा बसिन्।
मध्यरात भइसकेको थियो। बस आफ्नै गतिमा अगाडि बढिरहेको थियो। चालकले सबै शान्त बनेपछि नियास्रो मेट्न र निन्द्रा भगाउन मधुर गीत संगीत बजाइरहेका थिए। सबै यात्रु निदाए जस्तै वातारण थियो। बर्दियाको हरिया लेक आइपुग्दा एकाएक ३२ महिनाका किरण बटला रोएको आवाज केसीले सुने। ‘यसो फर्केर मैले हेर्दा बच्चा सिटदेखि तल खसेको मैले देखे,’ केसीले भने, ‘त्यसपछि म लगाएत अरूले धर्माकुमारीलाई उठाउन खोज्यौं, तर उहाँ हलचल गर्नुभएन।’ धर्माकुमारी बसको सिटमै कहिलै नउठ्ने गरि चीर निन्द्रामा सुतिसकेकी थिइन्। उनको अवस्थाले बसमा यात्रारत सबै दुःखी र निराश बने। कतिले नजिकै बबईमा उपचारका लागि मेडिकलमा तत्काल लैजान सल्लाह गरे। तर, त्यहाँ पनि मेडिकल बन्द भइसक्ने हुँदा बरू छिटो कोहलपुर र्पुयाउने सबैले सल्लाह गरे। धर्माकुमारीकी गाउँकै अर्की एक महिला पनि बसमा सवार थिइन्। उनैले धर्माकुमारीको मृत शरीर सिटमै बसेको अवस्थामा समातेर यात्रा गरिन् ।
शुक्रबार बिहान श्रीमतीलाई सकुशल नेपालगञ्जमा स्वागत गर्ने प्रतिक्षमा बसेका दलबहादुर एकाबिहानै श्रीमतीलाई सदाको लागि गुमाउनु परेको खबर सुन्दा छाँगाबाट खसेझैं भए। धर्माकुमारीलाई अहिले नेपालगञ्जस्थित भेरी अस्पतालको आइसियूमा राखिएको छ। ‘मृत्यु भइसकेको भए पनि मैले माइतिको बाटो कुरेको छु,’ दलबहादुरले भने, ‘जेठान आर्मी हुनुहुन्छ, उहाँ नेपालगञ्ज आइसक्नु भएको छ र आज बाँकी अन्तिम संस्कारको कामहरु गर्नेछौं।’
‘म कस्तो अभागि रहेछु, पहिलाको श्रीमतिले छोडेर अर्कैसँग गइ र अहिलको श्रीमतिले कलिलै उमेरमा सदाको लागि छोडेर गइन्,’ दलबहादुरले भने, ‘पहिलाको श्रीमतीको ७ वर्षीय छोरा विवेक म सँगै छ र अब अहिलेको यो अनाथ ३२ महिनाको किरणलाई मैले के गरि सम्झाउने होलारु’ यात्राकै क्रममा धर्माकुमारीको मृत्यु पछि किरण धेरै रोएको हुँदा उनलाई फुल्याउन अरु यात्रुले आमाको काखमा राखेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको छ। उनको मृत्युको खबरले रुकुम पश्चिम आठविसकोट नगरपालिका र उनको माइत यतिबेला शोकमग्न अवस्थामा छ ।