बझाङ। बुधबारदेखिको वर्षापछि खसेको पहिरोले बझाङको बुंगल नगरपालिका भएर बग्ने सानीगाड नदी थुनिँदा तटीय क्षेत्रमा त्रास बढेको छ । बुंगल–७ को महादेव माध्यमिक विद्यालय नजिकैबाट खसेको ठूलो पहिरोले नदी थुनिएपछि बाढी आउने खतरा छ ।
शुक्रबार दिउँसो ४ बजेबाट थुनिएको नदीमा बनेको ड्यामको माथिबाट पानी बग्न थालेको छ । पहिरो निरन्तर झरिरहेकाले अझै नदी थुनिन सक्ने हुँदा तटीय क्षेत्रमा सतर्क रहन प्रहरीले आग्रह गरेको छ । साबिक कफलसेरी गाविसमा पर्ने गिठिने भीरबाट शुक्रबार बिहान ९ बजेबाट पहिरो खस्न थालेको प्रत्यक्षदर्शी राकेश सिंहले बताए । उनका अनुसार पहिरोले थुनिएको ठाउँभन्दा माथि ताल बनेको छ । ताल फुटेमा नजिकैको कफलसेरी बजार, सानीगाड र कालंगा नदीको तटीय क्षेत्रका बस्तीमा बाढी आउने जोखिम छ ।
‘सानीगाड हाइड्रोको ड्याम साइटतिर जाने सडक पनि पहिरोले पुरै लगेको छ,’ उनले भने, ‘डाँडै भत्किएर आएको छ । अहिले पनि लगातार पहिरो झरिरहेको छ । पहिरो खसेपछि नदी थुनिँदा बनेको ड्यामले स्थानीय दलबहादुर धामीको घर डुबाएको छ । उनका दुई वटा भैंसी पनि डुबानमा परेर मरेको र अर्का एक स्थानीयको गोठ डुबानमा परेपछि गोठमा रहेका तीन वटा गाई मरेको स्थानीय योगेश सिंहले बताए । उनका अनुसार स्थानीयको ५० रोपनी खेत र धानबाली पनि डुबानले नष्ट भएको छ ।
पहिरोले थुनिएको ड्याम खुलाउन शुक्रबार साँझ सेनाको टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी बझाङका प्रमुख डीएसपी रूपक खड्काले बताए । उनले एक्स्काभेटरसहित सेनाको टोली पुगे पनि पहिरो झर्ने क्रम नरोकिएकाले राति नदी थुनिन सक्ने खतरा देखिएको बताए । ‘राति नदी थुनियो भने तटीय क्षेत्रका बासिन्दालाई सूचना दिनका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरेका छौं,’ उनले भने, ‘थुनिएको नदी खुलाउनका लागि पनि सेनाले काम गरिरहेको छ ।’
बाहुली गाडमा बाढी
लगातारको वर्षाले सदरमुकाम नजिक भएर बग्ने बाहुलीगाड खोलामा पनि बाढी आएको छ । बाहुलीगाडमा आएको बाढीले जयपृथ्वी नगरपालिका ९ र १० जोड्ने थपालीको झोलुंगे पुलमुनि कटान गरेको छ । पुल भत्किने अवस्थामा रहेकाले प्रहरीले आवतजावत गर्न रोक लगाएको छ । पुलनजिकै रहेको एक स्थानीयको घर पनि जोखिममा छ । उक्त घरमा बस्ने मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको वडा नं ९ का वडाअध्यक्ष नवराज कोइरालाले बताए । यस्तै, बाहुलीगाडमा आएको बाढीले रिठापाटा–सुर्मा सडक पनि बगाएकोले सुर्मा गाउँपालिका र जयपृथ्वी नगरपालिका ९ को यातायात सेवा पूर्णरूपमा विच्छेद भएको उनले बताए ।