धनगढी। नेकपा (एमाले) औपचारिक रुपमा विभाजित भएपछि सुदूरपश्चिम सरकार परिवर्तनको चर्चा सुरु भएको छ।माओवादी नेतृत्वमा रहेको प्रदेश सरकार अब नेपाली काँग्रेस वा माधव नेपाल समूहको नयाँ पार्टीले नेतृत्व गर्ने जिम्मा पाउने चर्चा बढेको हो ।
नेकपा एमाले विभाजित हुँदा सुदूरपश्चिममा तुलनात्मक रुपमा नेकपा (एकीकृत समाजवादी) बलियो देखिएको छ। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीबीचको समीकरणले पनि नयाँ सरकार बन्ने भएको छ। उक्त प्रदेशमा माओवादी केन्द्रले सत्ताको नेतृत्व सम्हालिरहेको छ। कांग्रेसका १२, माओवादी केन्द्रका १३ र जसपाका दुई जना सांसदले आवश्यक बहुमत संख्या २७ पुग्दछ। प्रदेश सभामा कूल ५२ जना सांसद छन्।
केन्द्रीय गठबन्धनअनुसार माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई समेत साथमा लिएर नयाँ सरकार बनाउने कसरत सुरु भएको छ। कांग्रेस सांसद डा.रणबहादुर रावलले नयाँ सरकारको चर्चा सुरु भएको जानकारी दिए। उनले भने, ‘कांग्रेस, माओवादी केन्द्र र जसपाको सांसदले बहुमत पुग्छ। केन्द्रमा माधवपक्षलाई पनि सरकारमा छुटाउन हुँदैन भन्ने भएको छ। केन्द्रको निर्देशन कुरिरहेका छौं।’
सुदूरपश्चिममा नवगठित नेकपा (एकीकृत समाजवादी) का १० जना प्रदेश सांसद रहेको बताइएको छ। एमाले विभाजन भएपछि उक्त प्रदेशमा सांसदहरु तीन पक्षमा देखिएका छन्। एमाले, नवगठित नेकपा (एकीकृत समाजवादी) र भीम रावलपक्षमा सांसदहरु लागेका छन्। ओलीपक्षमा पठानसिंह बोहरा, नेपालु चौधरी, माया तामाङ बोहरा, रतन थापा, लिलाधर भट्ट र गेल्बुसिं बोहरा चिनिएका छन्। दुवै समूहतिर नलागेर भीम रावलको निर्णय कुरेर बस्ने उनीपक्षीय चार जना सांसद रहेको बताइएको छ।