बझाङ। बुधबारदेखिको निरन्तरको वर्षापछि खसेको पहिरोले बझाङको बुङगल नगरपालिका भएर बग्ने सानीगाड नदी थुनिएको छ ।
नगरपालिकाको वडा नम्बर ७ मा पर्ने महादेव माध्यमिक विद्यालय नजिकैबाट खसेको ठूलो पहिरोले नदी थुनिएपछि बाढी आउने डरले स्थानीयबासी त्रसित भएका छन् ।साबिक कफलसेरी गाविसमा पर्ने गिठिने भीरबाट शुक्रबार बिहान पहिरो खसेको प्रत्यक्षदर्शी राकेश सिंहले जानकारी दिएका छन् ।
पहिरोले थुनिएको ठाउँ भन्दामाथि ताल बन्न लागेको र ताल फुटेमा नजिकै रहेको कफलसेरी बजार तथा सानीगाड र कालङ्गा नदीको तटीय क्षेत्रमा रहेका बस्तीमा बाढी आउने जोखिम बढेको उनले बताए । ‘सानीगाड हाइड्रोको ड्याम साइटतिर जाने सडक पनि पहिरोले पूरै लगेको छ,’ उनले भने, ‘डाँडै भत्किएर आएको छ ।
अहिले पनि लगातार पहिरो झरिरहेको छ ।’नगर प्रमुख धनबहादुर विष्टले सानीगाड र कालङ्गा नदी छेउछाउका बस्तीमा जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरिएको र पहिरो पन्छाएर नदीको निकास खुलाउने प्रयास भइरहेको जानकारी दिए ।