कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ। झडपमा परेर प्रहरी र आन्दोलनरत शिक्षक गरि १५ जना घाईते भएका छन्। दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि आन्दोलनरत शिक्षकबीच झडप भएको हो।
झपडमा परेर प्रहरी तर्फ ९ जना र आन्दोलनकारी शिक्षकतर्फ ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए। घाईते ९ जना मध्ये २ जना नगर प्रहरी रहेका छन्। डिएसपी न्यौपानेले प्रहरी तर्फ इनस्पेक्टर देखि जवानसम्म सामान्य घाईते भएको बताए। उनले झडपका क्रममा प्रहरीले ढुंगा प्रहार गर्दा छेक्ने (पारदर्शी शिल्र्ड) १२ थान र बडी प्रोट्याक्टर १ थान टुटफुट भएको बताए।
नगर शिक्षा समितिले गरेको दरबन्दी मिलानप्रति असहमति जनाउँदै नेपाली कांग्रेस निकट शिक्षक संघले भीमदत्त नगरपालिकाको मूलगेटमा शुक्रबार तालाबन्दी गरेको थियो। नगरपालिकाको मूलगेटमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ। झडपले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो। प्रहरीलाई ताला लगाएर कोठाभित्रै थुनिदिएपछि बल प्रयोग गर्न बाध्य भएको प्रहरीले जनाएको छ। आन्दोलनरत पक्षले गरेको ढुङ्गामुढाले नगरपालिकाको सभाहल र केही सवारीसाधनमा समेत क्षति पुगेको प्रहरीको भनाई छ।
यता गृहमन्त्री बालकृष्ण खाणले कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालय परिसरमा प्रहरीले शिक्षकमाथि गरेको बल प्रयोगको छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्। गृहमन्त्री खाणले नेपाली कांग्रेसका नेता रमेश लेखकसँग शिक्षकहरुमाथि प्रहरीले गरेको बल प्रयोगको छानबिन गर्ने प्रतिवद्धता जनाएका हुन्। शिक्षक संघले भीमदत्त नगरपालिकामा पेशागत मागहरु राखी अनशन बसिरहेका शिक्षकहरुमाथि भएको प्रहरी दमनको भत्र्सना गर्दै उनले गृहमन्त्री खाणसँग दोषीमाथि कारबाहीको माग गरेको पनि बताए।