धनगढी । नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाले १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा मास्क वितरण गरेको छ ।
तेस्रो लहरको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि महासंघले मास्क वितरण गरेको हो । जोखिम न्यूनीकरणका लागि महासंघ द्वारा आयोजित मास्क वितरण अभियानलाई नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले मास्क सहयोग गरेकी थिइन् ।
मास्क वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल, प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा तथा नेपाल फोटो पत्रकार महासंघ कैलालीका सदस्यहरुको उपस्थिति रहेको थियो । मास्क वितरण कार्यक्रमको उद्घाटनमा प्रदेश अध्यक्ष रावलले १८२ औं विश्व फोटोग्राफी दिवसको शुभकामना व्यक्त गर्दै महामारी बढी रहेको समयमा निशुल्क मास्क वितरण गर्नु उदाहरणीय कार्य भएको बताए ।
यस्तै महामारी बढिरहेको भन्दै पत्रकारहरुलाई सुरक्षा मापदण्ड अपनाएर रिपोर्टिङ गर्न समेत अध्यक्ष रावलले सुझाए । फोटो पत्रकार र सुरक्षाकर्मीहरुको सहभागीता सर्वसाधारणलाई झण्डै एक हजार मास्क वितरण गरिएको थियो । यस्तै १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा महासंघका अध्यक्ष पाण्डव पुजाराले शुभकामना वक्तव्य निकालेका थिए ।