धनगढी। भीम रावलको पक्षका सुदूरपश्चिम प्रदेश सभाका अधिकांश सदस्यले पार्टी बिभाजनसंगै उनको साथ छोडेका छन् । विगतदेखि नै माधवकुमार नेपाललाई साथ दिदै आएका रावल शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएदेखि तटस्थ जस्तै देखिएका छन्।
नेता रावलले नेपालको साथ छोडेको चर्चा पनि हुन थालेको छ। रावलले नेपाल समूहको नयाँ पार्टी नेकपा एमाले (समाजवादी)दर्तामा पनि साथ दिएका छैनन्। यसै अन्तरगत सुदूर पश्चिम प्रदेश सभाका भीम रावलको पक्षमा रहेका अधिकांश सदस्यहरुले पनी पार्टी बिभाजनसंगै उनको साथ छोडेका छन् । रावलको साथ छोड्नेमा उनको अत्यन्त निकट मानिने दीर्घ सोडारी पनि छन् ।
नेकपा एमाले कैलाली (माधव समूह) का अध्यक्ष रहेका सोडारी यतिबेला सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्बाधार मन्त्री छन् । उनको अध्यक्षतामा बसेको नेकपा एमाले कैलालीको पदाधिकारी बैठकले माधव नेपालको पक्षमा उभिने निर्णय गरेको छ । उनले आफू सहित अधिकांश प्रदेश सभा सदस्य नेकपा एमाले समाजवादीमा आबद्ध हुने स्रोतले बताएको छ । सोडारीले आफूसंग आधा दर्जन सांसद रहेको बताउने गरेका छन् । अमर साउँद र बल बहादुर सोडारी उनी निकट मानिन्छन । सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी पनि माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीको पक्षमा छन् ।
मन्त्री जोशीले आफू अतिवाद र प्रतिगमनको बिपक्षमा भएको बताईन । पूर्व वन वातावरण, उद्योग तथा पर्यटन मन्त्री माया भट्ट पनि भीम रावलको साथ छोडेकी छन् । भट्टले पनि नेपाललाई साथ दिएकी छन् । त्यस्तै नेकपा एमाले कञ्चनपुरमा अध्यक्ष रहेका तारा लामा तामाङ, प्रदेश सभा सदस्य कुलवीर चौधरी, सुशिला बुढाथोकी पनि माधव नेपाल पक्षमा छन् । आर्थिक मामिला मन्त्री प्रकाश शाह भने नेता रावलको पक्षमा देखिएका छन् ।मन्त्री शाहले पार्टी बिभाजन गर्ने सैद्धान्तिक र बैचारिक आधार नभएको र आफू पार्टी बिभाजनको पक्षमा नरहेको बताए । पार्टी बिभाजन हुदा लोकतन्त्र नै कमजोर हुने भएकोले आफू पार्टी एकताका पक्षमा रहेको स्पष्ट उनले पारे ।
नाताले नेता रावलको भिनाजु हर्क बहादुर कुवँर गोविन्द पनि रावलको पक्षमा लागेका देखिदैनन ।सरकारमा राज्यमन्त्री रहेकी अर्चना गहतराजले रावललाई साथ दिएको स्रोतले बतायो । स्रोतले भन्यो, जहाँ रावल जान्छन् । त्यही पार्टी र समूहमा गहतराज रहनेछिन । कुवँरले आफू प्रतिगमन र अतिवादको विपक्षमा भएको बताए । प्रदेश सभा सदस्य प्रकाश रावल पनि भीम रावल निकट मानिन्छन । तर यतिबेला उनी तटस्थ छन् ।
चुनकुमारी चौधरीलाई रावलले राज्य मन्त्री बनाएका हुन् । यद्दपि मन्त्री पद जोगिने शर्तमा मात्र उनी रावलको पक्षमा जाने देखिन्छन, स्रोतले भन्यो, तर अहिलेको सरकारमा रहेकाहरु रावललाई साथ दिदा भने मन्त्री पद गुमाउने निश्चित छ । नेकपा एमालेका २५ सांसद रहेको सुदूर पश्चिम प्रदेश सभामा भीम रावलका पक्षमा सुदूर १८ जना सदस्य थिए । सात जना भने ओली पक्षमा उभिएका थिए । पार्टी बिभाजन हुदा उनीहरुले एक ढिक्का भएर रावललाई साथ दिने दावी गरिएको थियो । तर रावलकै विश्वास पात्रहरुले उनको साथ छोडेका छन् ।