धनगढी। कैलालीमा बालिकामाथि बलात्कारको घटना मिलापत्र गरेको आरोपपछि असईलाई निलम्बित गरिएको छ । कैलालीको गोदावरी नगरपालिका ८ फकलपुरका छुनुकलाल चौधरीले ११ वर्षीया बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको आरोपको घटना मिलापत्र गरेको आरोपपछि असईलाई निलम्बित गरिएको हो ।
उक्त घटनालाई अस्थायी प्रहरी चौकी बड्याहा र वडा नम्बर ८ का जनप्रतिनिधिले साढे तीन लाखमा मिलाएको आरोप लागेपछि एक प्रहरी सहायक निरीक्षकलाई निलम्बन गरिएको कैलाली प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले अस्थायी प्रहरी चौकी बड्याहाका प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीलाई निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले घटनाको छानबिनका लागि समिति गठन भएको र छानबिन प्रभावित नहोस भन्नका लागि बोगटीलाई निलम्बन गरिएको जानकारी दिए। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो।
छानबिन समितिमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक दानबहादुर रोकाया, प्रहरी हवल्दारद्धय छक्कबहादुर कार्की, चक्रबहादुर खड्का र प्रहरी जवान अर्जुनबहादुर खड्का सदस्य छन्। वडा नम्बर ८ का वडा सदस्य राजेश चौधरीले छुनुकलाललाई साढे तीन लाख दण्ड गराएर मिलापत्र गरिएको स्वीकार गरेका छन्।