बझाङ। जिल्लामा कोभिड–१९ संक्रमणको तेस्रो लहरको जोखिम न्यूनिकरण, रोकथाम तथा नियन्त्रण गर्नका लागि पूर्व तयारीलाई तीव्रता दिइएको छ ।
विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाहरु एकजुट भएर तेस्रो लहर नियन्त्रणको तयारीमा लागेका हुन् । नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य कार्यालय बझाङ लगायत अन्य सरकारी र गैरसरकारी संघ संस्थाहरु कोरोनाको तेस्रो लहर नियन्त्रण अभियानमा संयुक्त रुपमा लागेका छन् ।
उनीहरुले सर्वसाधरणले सुरक्षा मापदण्डमा हेलीचेक्राईं गरेको भन्दै सचेतनाको लागि मास्क अभियानलाई तीव्र पारेका छन् । तेस्रो भेरियन्ट रोकथामका लागी स्थानीय तहहरु बढी सचेत रहन आवश्यक रहेको र आम नागरिकलाई कोरोना सचेतना फैलाउन जरुरी रहेको नेपाल रेडक्रस सोसाइटी बझाङका मन्त्री ईश्वरनाथ जोशीले जानकारी दिए।
स्वास्थ्यका मापदण्डको पालना अनिवार्य रुपमा गर्न र गराउने उदेश्यले सबै ठाँउमा मास्क अभियान संचालन गरिएको छ । कोरोना भाइरसको तेस्रो लहरको रोकथामका लागि नगरपालिकाले मातहतका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीहरुलाई सचेत गराएको र कोभिड–१९ व्यवस्थापन कोषको समेत स्थापना गरेको जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्काको भनाइ छ ।
जिल्लास्थित डिसीसीएमसीको बैठकले अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पालना गराउनुपर्ने निर्णय गरेसँगै जिल्लामा सचेतना फैलाउन मास्क अभियानलाई तीव्रता दिइएको छ । अहिले अधिकांश नागरिकले मास्क लगाउनै छाडिसकेको अवस्थामा मास्क अभियान सञ्चालन भएपछि मास्क लागउन सुरु गरिएको छ। कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि स्वाथ्य कार्ययोजना बनाइ स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, गृह मन्त्रालयमा आवष्यक सहयोगका लागि पत्राचारसमेत भइसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए।
तेस्रो लहरको बारेमा आम नागरिकलाई जानकारी गराउन र स्वास्थ्यका मापदण्डको अनिवार्य पालन गराउन सबै पालिकाहरुलाई पत्राचार गरिएको र सबै पालिकाहरुले महिला स्वास्थ्य स्वयंसेविका मार्फत सचेतना कार्यक्रमहरु र विभिन्न ठाँउमा होडिङबोर्डसमेत राख्ने काम भएको उहाँको भनाइ छ । स्वास्थ्यका मापदण्डको पालना गराउनका लागी बजारमा सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको छ । स्वास्थ्य मापदण्डको पालना नगरी बजारमा घुमफिर गर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कडा कारबाही हुनेछ । त्यसैले स्वयं सुरक्षा मापदण्डको पालना गर्ने हो भने कोरोना भाइरस नियन्त्रण गर्न सहज हुनेछ ।