काठमाडौं। लुम्बिनी प्रदेशमा २२ घन्टा समयभित्र नयाँ सरकार गठन गर्न आह्वान गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा गरेपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २२ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन् । संविधानको धारा १६९ को उपधारा १ को खण्ड ‘क’ बमोजिम मुख्यमन्त्री पोखरेलले साउन २७ गते राजीनामा दिएकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् ।
यससँगै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको पहल थाल्नेछन् । माओवादी सांसद सुदर्शन बरालले भने, ‘चार दलीय गठबन्धनसँग ४२ सांसद छन्, भोलि नै कुलबहादुर केसी मुख्यमन्त्री बन्नुहुनेछ ।’