काठमाडौं।दार्चुला घटनाबारे यथार्थ जानकारी दिन सभामुखको रुलिङ गरेका छन् । सभामुख अग्नि सापकोटाले दार्चुला घटनाबारे यथार्थ जानकारी यथाशक्य छिटो दिन सरकारलाई रुलिङ गरेका हुन्। दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाइ यथार्थ जानकारी दिन सभामुख सापकोटाले रुलिङ गरेका हुन् । उनले यो घटनामा आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
गत साउन १५ गते नेपालबाट भारत जाने क्रममा धामी तुइनबाट खसेर महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन चुडाइदिएकाले धामी नदीमा बेपत्ता भएको बताएका छन् । भारतीय पक्षले भने यो घटना एसएसबीको संलग्नता नभएको दाबी गर्दै आएको छ । यथार्थ पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।
समितिका सदस्यहरु घटनास्थलको अनुगमन गरी फर्किएका छन् । सो समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयले भनेको छ । यो घटनाको संसदमा चर्को आवाज उठ्दै आएको छ ।