दार्चुला। दार्चुलाको ब्याँस गाउँपालिका माल घटनाको छानबीन समितिलाई प्रतिबेदन बुझाउन सात दिन म्याद थपिएको छ। गृह मन्त्रालयले गठन गरेको छानबीन समितिलाई घटनाको प्रतिबेदन तयार पार्ने म्याद थप गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले जानकारी दिए । गृह मन्त्रालयले माल घटनाको अनुसन्धानका लागि सहसचिव जर्नादन गौतमको नेतृत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको थियो ।
गौतम नेतृत्वको छानबीन समितिको टोली साउन १९ गते जिल्ला पुगि प्रत्यक्षदर्शी, जनप्रतिनिधि, राजनीतिक दल, मानवअधिकारकर्मी तथा पत्रकारहरुसंग घटनाबारे जानकारी लिएकोे छ। टोलीले घटनास्थलको नेपाल–भारत दुबैतर्फ स्थलगत अवलोकन अध्ययन पनि गरिसकेको छ। छानबीन समितिलाई गृह मन्त्रालयले दिएको १० दिनको म्याद आज सकिएको छ । १० दिनभित्र घटनाको प्रतिबेदन बुझाउने जिम्मेवारी दिई टोली जिल्ला पठाएको छानबीन समितिको टोलीले प्रतिबेदन बुझाउन सकेको छैन । छानबीन समितिले १० दिन म्याद मागेकोमा गृह मन्त्रालयले ७ दिनको म्याद थप गरेको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए ।
सुरुमा १० दिन म्याद दिइएकोमा अझै समितिले १० दिन म्याद थप गर्न अनुरोध गरेपनि ७ दिन म्याद थप गरिएको उहाँको भनाई छ । साउन १५ गते भारतको बाटो भएर खलंगा आउने क्रममा तुइन तरिरहेकै बेला भारतीय एसएसबीले तुइन फुकालिदिदाँ ब्याँसका स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीको भनाई छ । महाकाली नदीमा बेपत्ता भएको एघारौँ दिनपनि धामी फेला परेका छैनन् ।