काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशका ३ सांसदलाई थमौती गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । पार्टी नीति विपरीत शंकर पोखरेललाई समर्थन गरी सरकारमा सहभागी भएको भन्दै जसपाले पार्टीका ३ सांसदलाई कारवाही गरेपछि उनीहरु सर्वोच्च पुगेका थिए। पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि जसपाका लुम्बिनी प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी हटाएको थियो । सोको जानकारी प्रदेश सभा सचिवालयलाई दिएपछि प्रदेश सभाले ती सांसदलाई हटाएको सूचना टाँस गरेको थियो । तर, यसअघिको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामै रहेका बेला आफूहरुलाई पुनः कारवाही गरिएको भन्दै उक्त कारवाही यथास्थितिमा राख्न माग गर्दै उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।
साउन १८ गते दर्ता गरिएको रिट साउन १९ को पेसीमा चढेको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा परेको रिट निवेदकबाटै स्थगित गरिएको थियो । त्यसपछि साउन २१ गते पेसीमा चढेको उक्त रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको थियो । उक्त दिन पनि निवेदकको कानुन व्यवसायीबाट स्थगित गराइएको थियो । त्यसपछि सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाकै इजलासमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि भदौ ८ गतेलाई बोलाएको हो । तीन सांसदलाई पदमुक्त गर्नुको कारण पेश गर्न प्रदेश सभा सचिवालय लुम्बिनीलगायत विपक्षीको नाममा कारण देखाऊ आदेशसमेत दिएको छ ।