दार्चुला। बेपत्ता जयसिह धामीको खोजी कार्य ड्रोन क्यामराबाट गरीने भएको छ । गत साउन १५ गते भारतीय एसएसबीले तुइन फुकालेर महाकालीमा वेपत्ता भएका जयसहि धामीको शव खोजी कार्य जारी राखिएको जनाइएको छ । ब्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको अवस्था अझै अज्ञात रहेको छ । अज्ञात धामीको खोजी कार्यका लागी नेपालतिर सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरिरहेका छन् भने भारतबाट भारतीय एसएसबीले महाकाली नदी छेउछाउ खोजी कार्य जारी राखेका छन् । व्यास गाउँपालिका २ मालदेखि महाकाली नगरपालिकाको खलंगा क्षेत्रसम्म सुरक्षाकर्मीले निरन्तर खोजी कार्य जारी राखेको छ । समितिले एक पटक ड्रोन क्यामरामार्फत जयसिहको खोजी गर्ने जनाएको छ । साउन १९ गते खलंगा पुगेको छानबीन समिति अहिले पनि दार्चुलामै छ ।
सरकारले अझै जयसिहको खोजी गर्न समितिलाई निर्देशन गरेपछि ड्रोन क्यामराको प्रयोग गरेर भए पनि महाकाली किनारमा जयसिहको खोजी गरिने समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले जानकारी दिए । सशस्त्र प्रहरीले बाइनाकुलर लगायतका सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा खोज्ने काम गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति एसपी नरेन्द्र बमले भनेका छन् । ड्रोन क्यामरा लिएर टोली दार्चुला आइपुगेको छ । छानबीन समिति संयोजक गौतमल भने, अझै हामी वेपत्ता जयसिहको अवस्थाबारे खोजी गर्छौ । समितिले अहिले पनि बयान लिने, सोधपुछ गर्ने कार्य गर्दै छ । गत शुक्रबार पीडितको परिवारसँग र नेपालतर्फको घट्नास्थल निरीक्षण गरि फर्किएको टोली निरन्तर प्रतिवेदन लेखन र सोधपुछ कार्यमा व्यस्त रहेको छ । हाम्रो अनुसन्धान जारी छ, अहिले सुरक्षा समितिका सदस्य, घट्नास्थल नजिकका सुरक्षाकर्मी, लगायतसँग सोधपुछ चलेको छ गौतमले भने ।