दार्चुला। जयसिह धामी वेपत्ता भएको घट्नाको छानबीन गर्न भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छानबीन समितिको टोली घट्नाको छानबीनपछि दार्चुला पुगेको छ । मन्त्रालयका सह-सचिव एवं छानबीन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली केहीबेर अगाडि जिल्ला सदरमुकाम दार्चुला पुगेको साहयक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट जोशीले जानकारी गराईन् । आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको टोली जिल्लामा पुगेको हो। जयसिह धामी वेपत्ता प्रकरणमा सुक्ष्म ढंगले अध्ययन गरेरै प्रतिवेदन आउने जानकारी दिने बताएका गौतम घट्नास्थल पुगेर त्यहाँको वस्तुस्थित ल्याएर फर्किएको साहयक प्रजिअ जोशीले जानकारी दिए । समितिले भारतीय एसएसबी र स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिएको बताइएको छ ।
टोलीमा छानविन समितीका संयोजक सह-सचिव जनार्दन गौतम, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी छन् । छानविन टोली बाहेक सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुलाका गणपति एसपी नरेन्द्र बमं तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट टोली संगै घटनास्थल तर्फ गएको साहयक प्रजिअ जोशीले बताए। त्यसैगरि नेपाली छानविन टोली संग भारतको डिडिहाटका एसएसबी कमाण्डेन्ट महेन्द्र प्रताप र अन्य दुई जना एसएसबी अधिकारी घटना स्थल गस्कु तर्फ गएको स्रोतले जनाएको छ ।
साउन १५ गते व्यास गाउँपालिका २ का मालका जयसिह धामी महाकालीमा वेपत्ता भएका थिए । भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिदा घट्ना घटेको समाचार आएसँगै घट्नाबारे अध्ययन गर्न छानबीन समिति दार्चुला पुगेको हो । वेपत्ता धामी अझै फेला परेका छैनन् ।बुधबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल, र व्यास गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेपछि टोली आज गस्कु गएको हो । नेपाल भारत जोड्ने तुइन लगाएको स्थानीयले अवलोकन गरेका छन । टोलीलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन भनिएको छ । भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरेपनि तुइन नकाटेको दाबी गरेको छ । छानविन समितिको प्रतिवेदन अनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने जनाएको छ ।