दार्चुला। महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबीले) तुईन काटेपछि जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले दार्चुला पुगेर काम थालेको छ । घटनाबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले बुधबार दिनभरि घटनाका प्रतक्षदर्शी, पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल लगायतसँग छलफल गरेको छ । मंगलबार बेलुकी दार्चुला पुगेको समितिमा संयोजक गौतमसँगै सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सदस्य रहेका छन् ।
समितिले घटनास्थलमा जानुभन्दा पहिले दार्चुला सदरमुकाम खलंगामा प्रत्यक्षदर्शीहरुलाई भेटेर बयान लिनुका साथै सरोकारवालाहरुका सुझाब समेत संकलन गरेको छ । छलफलमा सहभागि पत्रकार र मानवअधिकारकर्मीहरुले घटनालाई तोडमोड नगरेर सत्यतथ्य बाहिर ल्याउन, दोषीलाई कारवाही गर्न र पीडितलाई उचित क्षतिपूर्तिकालागि पहल गर्न अनुरोध गरेका छन् । समितिले घटनास्थल पुगेर फर्किएका सुरक्षाकर्मी र जिल्लास्थित अन्य सरकारी अधिकारीसँग छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका डिएसपी वीरसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित तीनजनाको टोली स्थलगत निरीक्षणका लागि खटिएको थियो ।
घटनास्थल पुगेका ती अधिकारीसँग गृहको छानबिन समितिले थप विवरण लिएको छ । सरोकारवालाहरुसँगको छलफलको क्रममा समिति संयोजक गौतमले सत्यतथ्यको नजिक पुगेर घटनाबारे वास्तविक प्रतिवेदन सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गरे। छानबिन टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ । तुइन तर्दै गर्दा एसएसबीका जवानले डोरी फुकालिदिएपछि धामी महाकालीमा खसेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् ।