धनगढी : भुमिहिनका लागी सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त भएको जमिन ७ दिनमै बिक्रि भएको पाइएको छ । कैलालीको गोदावरी नगरपालिका १ स्थित ४ कठ्ठा जमिन भुमिहिनका नाममा परेको ७ दिनमै बिक्रि भएको पाइएको हो । बिगतमा जंगलको नाममा रहेको जमिनलाई भुमिहिनका नाममा गराउन गत २०७७ फागुन २१ गते कैलाली जिल्ला अदालतले आदेश दिएको थियो । गोदावरी नगरपालिका १ बस्ने राजाराम चौधरी, अम्मर चौधरी र अगनिया चौधरीका नाममा सो जमिन नामसारी गराउन कैलाली जिल्ला अदालतले मालपोत कार्यालय कैलालीलाई आदेश दिएको छ । सो आदेश संगै सो ब्यक्तीहरुका नाममा कैलाली जिल्ला मालपोत कार्यालयले जमिन पास गरेको छ ।
तर सो भुमिहिनका नाममा जमिन पास गरेको एक साता नबित्दै जमिन अर्कै ब्यक्तीलाई बिक्रि भएको पाइएको छ । २०७७ फागुन २८ गते सो जमिनको तिनै कित्ता (१४४८, १४४९, १४५०) गंगाराम कँडेल जैशीको नाममा पास भएको पाइएको छ । सोही जमिन छेउमा बस्दै आएका तुलसी भट्राइले भुमिहिनका नाममा भएको जमिन बिक्रि गर्न नपाइने बताए । उनले भने ‘भोगचलन अर्कै ब्यक्तीले गरिरहेको जमिनलाई अदालतले भुमिहिनलाई दिन आदेश दियो अनी मालपोतले भुमिहिनबाटै अर्कैको नाममा जमिन नामसारी गरेको छ, यो कस्तो नियम हो कस कसको मिलोकतो छ यो सत्य बाहिर आउनुपर्छ ।’
भुमिसुधार तथा मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीलाई यस बारे जानकारी लिन खोज्दा आफु अनबिज्ञ भएको बताए । उनले पास गर्ने र रुजु गर्ने ब्यक्तीलाई थाहा हुनुपर्ने भन्दै त्यसबारे जानकारी नभएको तर्क दिए ।
मालपोतकै कर्मचारीहरु आर्थिक प्रलोभनमा परेर भुमिहिनका नाममा भएको जमिन अर्कै ब्यक्तीको नाममा भएको आरोप समेत लागेको छ । तर मालपोत कार्यालय कैलालीका प्रमुख केसीले भने अनुसार पास गर्ने र रुजु गर्ने कर्मचारीलाई बुझ्दा मालपोत अधिकृत उद्धव सिहं कार्की र नायव सुब्बा सुर्य ओझाको सरुवा भएको पाइएको छ । मालपोत अधिकृत जनक मिश्रले भने २५ बर्ष नाघेको भए बिक्रि गर्न मिल्ने तर्क दिए । तर एक सातामै बिक्रि भएको भन्ने प्रश्नमा उनलेपनि बोल्न मानेनन्, कागजपत्र हेर्ने ब्यक्तीलाई थाहा हुनुपर्छ भन्दै उनिपनि पन्छिए ।
जमिन कित्ताकाटका लागी वडा कार्यालयको समेत सिफारिश भेटिएको छैन सोही जमिनका छिमेकी एक ब्यक्तीले भने ‘बाटो समेत पास भएको पाइएन ३० लाख सरकारी दर रेट भएको जमिनको सरकारी दर ६ लाख हालेर बिक्रि भएको पाइयो यो भ्रस्टाचार होइन मालपोतका कर्मचारीहरुलाई प्रश्न गर्दा उल्टै थर्काउँछन् ।’