धनगढी। धनगढी-दिपायल द्रुतमार्ग निर्माणकालागि कालोपत्रेको काम सुरु भएको छ। धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि सो सडकको धनगढी–स्याउले खण्डमा कालोपत्रे निर्माणका लागि काम सुरु भएको छ । खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक १६ करोड ४० लाखमा ठेक्का पाएपछि धनगढीको पिपलचौतारादेखि स्याउलेसम्मको १३.४ किलोमिटरमा कालोपत्रे गर्नका लागि काम सुरु गरेको हो । वर्षाले गर्दा सुख्खा ठाउँमा सडकको नाली बनाउने काम सुरु गरिएको ठेकेदार कम्पनीले जनाएको छ । वर्षात् सकिएपछि मात्रै फुलफेजमा काम गर्न सकिने ठेकेदार कम्पनीका इन्जिनियर सचिन थापाले जनाए ।ठेक्का सम्झौताअनुसार पिपलचौताराको सामुदायिक प्रहरी कार्यालयदेखि स्याउलेमा पर्ने पूर्वपश्चिम राजमार्गभन्दा केही माथिसम्म कालोपत्रे गरिने इन्जिनियर थापाले जनाए।
उनले गत असार २० गते आउँदो ३० महिनामा कालोपत्रे गरिसक्ने गरी ठेक्का सम्झौता भएको बताए। २०६४ सालमा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रुपमा सर्भे गरी ट्रयाक खोल्न थालिएको थियो । त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि पूर्वपश्चिम राजमार्गदेखि धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो । धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार यस आर्थिक वर्षमा धनगढीदेखि १३.४ किलोमिटर र दिपायलदेखि ९.५ किलोमिटर सडकमा कालोपत्रे गर्ने सम्झौता भएको छ । आयोजनाका सबइन्जिनियर भोजराज रानाले स्याउलेदेखि दक्षिणतिर एक किलोमिटरसम्म दुवैतर्फ नालीसमेत निर्माण हुने बताए । ठेकेदार कम्पनीका इन्जिनियर थापाका अनुसार सडकको कुल चौडाइमध्ये ९ किलोमिटरमा ग्राभेल हुनेछ भने त्यसमध्ये पनि ५.५ मिटरमा कालोपत्रे गरिने छ । उनले १३.४ किलोमिटर सडकमा ३ वटा कल्भर्ट बनाउनुका साथै १६ वटा ह्युमपाइप राखिने बताए ।
यसैगरी, दिपायलदेखि धनगढीतिर गरिने ९.५ किलोमिटर कालोपत्रे सडक निर्माणको ठेक्का आश्रय प्रशंसा दुनिला जेभीले पाएको छ । सो सडक ३० महिनामा निर्माण गरिसक्ने गरी भ्याटबाहेक १४ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको डोटी सम्पर्क कार्यालयका सबइन्जिनियर जगदिशनिर्मल विष्टले बताए । उनले कुल सडक खण्डको आवश्यक पर्ने ठाउँमा नाली, बाल र कल्भर्टसमेत निर्माण गर्ने गरी दुनिला जेभीसंँग सम्झौता भएको बताए। सम्झौता भएर कन्ट्रक्सन सर्भे पनि भइसकेको सबइन्जिनियर विष्टले बताए । उनले विभागबाट स्वीकृति प्राप्त हुने बित्तिकै अबको दुई साताभित्रै ठेकेदार कम्पनीले काम सुरु गर्ने बताए। उनले दिपायल एयरपोर्टदेखि तिखासम्म सम्झौताअनुसार कालोपत्रे हुने बताए।आयोजनाको कुल ९२ किलोमिटरमध्ये चालू आर्थिक वर्षमा थप २७.५ किलोमिटर खण्ड (डोटी खण्डमा २० र कैलाली खण्डमा ७.५ किलोमिटर)मा कालोपत्रेका लागि टेण्डर आह्वान गरिने भएको छ । सोका लागि अर्थ मन्त्रालयसंँग स्रोत सुनिश्चितता गरिदिन माग गरिएको आयोजना प्रमुख इन्जिनियर खगेन्द्र शाहीले बताए ।
उनले अर्थ मन्त्रालयले स्वीकृति दिएमा यसवर्ष थप ठेक्का लगाएर काम अगाडि बढाइने बताए । उनले धनगढीदेखि हातखोली जोड्न यस वर्ष लागिसकेको ठेक्काबाहेक साढे ७ किलोमिटर बाँकी हुने भएकाले धनगढी र हातखोली कालोपत्रे सडकले जोड्न थप ठेक्का लगाउन कसरत गरिरहेको बताए। आयोजना प्रमुख इन्जिनियर शाहीका अनुसार चालू आर्थिक वर्षमा धनगढी–दिपालय द्रुतमार्गको कैलाली खण्डमा ६ वटा र डोटी खण्डमा ३ वटा गरी ९ वटा पुल निर्माणका लागि रातो किताबमा बजेट परेको छ । उनले सोको पनि स्रोत सुनिश्चितता लिएर यस वर्ष काम सुरु गर्ने गरी आयोजना कार्यालयले काम गरिरहेको बताए ।
आयोजना कार्यालयका अनुसार धनगढीदेखि दिपायलसम्म १६ वटा नदी तथा खोलामा पुल बनाउनुपर्ने देखिएको छ । त्यसमध्ये नौवटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार भएको छ । तर बन्देगडा नदीमा सर्भे नपुगेकाले आठवटा पुलको ठेक्का लाग्ने सम्भावना रहेको आयोजनाका सबइन्जिनियर विष्टले बताए ।
ट्रयाक खोल्न बाँकी
धनगढी–दिपायल द्रुतमार्गको साढे ४१ किलोमिटर खण्डमा अझै ट्रयाक क्लियर भइसकेको छैन । आयोजना कार्यालयका अनुसार डोटी खण्डमा ट्रयाक काट्ने काम सकिएको भए पनि त्यसलाई फिनिसिङ गर्न बाँकी छ भने कैलाली खण्डमा पर्ने बबैनामा तीन किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ ।
कैलालीमा हातखोलीदेखि ओझेनासम्मको २० किलोमिटरर डोटीमा तिखाभन्दा अगाडिदेखि विपिनगरसम्म ट्रयाक काट्नका लागि ठेक्का लिने ठेकेदारले ठेक्का पूरा गरेका छैनन् ।
ती ठेकेदार कम्पनीहरूले सम्झौताअनुसार काम सकेर ठेक्का पूरा गरेपछि मात्रै सो खण्डमा थप काम अगाडि बढाउन सकिने आयोजना प्रमुख इन्जिनियर शाहीले बताए । सडकमा पर्ने रुख कटानी आदेश पाउन ढिलो भएको, ठेकेदार कम्पनीले ट्रयाक खोल्न ढिलो गरेको र सडकको स्वामित्व प्रदेश र संघ सरकारमध्ये कसले लिने भन्ने विवादलगायतका कारणले धनगढी–दिपायल द्रुतमार्ग निर्माणमा ढिलाइ भएको हो । आयोजना प्रमुख इन्जिनियर शाहीले आयोजनाको वार्षिक बजेट ३० करोडको रहेको बताए ।