काठमाडौं। पाँच दलीय गठबन्धनको बैठक सकिएको छ । बैठकमा मन्त्रालयको भागबन्डालगायतका विषयमा छलफल भएको नेताहरुले बताएका छन् । बैठकमा सरकारलाई पूर्णता छिटो दिने र न्यूनतम साझा कार्यक्रम छिटो ल्याउनेबारे कुराकानी भएको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । उनले तत्काल मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको जानकारी दिए । महामन्त्री खड्काले मन्त्रालयको भागबन्डा नलगेपनि मन्त्रिमण्डल विस्तारमा धेरै समय कुर्नु नपर्ने जानकारी दिए । ‘सरकारलाई पूर्णता छिटो दिने र न्यूनतम साझा कार्यक्रम छिटो ल्याउने, तत्काल मन्त्रिमण्डल विस्तार गर्ने सहमति भयो’, उनले भने ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल समूहको सहभागिता रहेको थियो ।
बैठकमा कांग्रेसबाट प्रधानमन्त्रीसहित बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णवहादुर खड्का, कृष्ण प्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराई र अशोक राई, नेपाल समूहका डा. विजय पौडेल र जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद पुनःस्थापनाको माग गर्दै पाँच दलका १४६ जना सांसदले सर्वोच्च अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै हस्ताक्षर बुझाएका थिए । अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही बमोजिम राष्ट्रपति भण्डारीले असार २९ गते देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । साथै साउन ३ गते प्रधानमन्त्री देउवालाई गठबन्धनका सांसदहरुले विश्वासको मत दिएका थिए ।