काठमाण्डौँ। जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सभाका तीन जना सांसदलाई पार्टीबाट निष्कासित गरेको छ । मंगलबार बसेको जसपाको कार्यकारिणी बैठकले लुम्बिनी प्रदेशसभामा निर्वाचित सांसदहरु विजय यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई पार्टीबाट निष्कासित गरेको हो। लुम्बिनी प्रदेश सरकारमा सहभागी ४ जना सांसद मध्ये केही दिनअघि सुमन शर्मा रायमाझीले राजीनामा दिएकी थिइन् । उनीहरुलाई निष्कासित गरेसँगै प्रदेश सांसद पद रिक्त राख्नका लागि जसपाले त्यहाँका प्रदेश सभामुखलाई पत्र लेख्ने निर्णय गरेको छ ।
जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि पनि जसपाको उपेन्द्र यादव पक्षले पार्टीबाट निष्कासन गरेको थियो । जसपाको निर्णय विपरीत रिट लिएर सर्वोच्च अदालत गएका उनीहरुको पद सर्वोच्चको आदेशमा थमौती भएको थियो। जसपाको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट पार्टी आधिकारिकता पाएपछि पहिलो पटक आज बसेको बैठकले फेरि ती सांसदहरुलाई कारबाही गरेको नेता इस्तियाक राईले जानकारी दिए ।