बाजुरा। बाजुरा सदरमुकाम जोड्ने मुख्य सडक चार वर्षदेखि हरेक बर्खामा बन्द हुने गरेको छ। यसपटक पनि असार १ गते भएको वर्षासँगै सडक अवरुद्ध छ। त्रिवेणी नगरपालिका-९ पैमामा भीरबाट पहिरो आउने र तलतिर बूढीगंगा नदीले सडक बगाएपछि सडक अवरुद्ध हुँदै आएको हो। पहिरोले, बूढीगंगा नगरपालिकाको बल्देबाट बडिमालिका नगरपालिकाको सिमाना हरडे खोलासम्म सडक भत्किएको छ। बर्खाका बेला सडक भत्किएपछि सदरमुकामा मार्तडीसँग बाजुरा जिल्ला सदरमुकाम र धेरै स्थानीय तहसँगको सम्बन्ध टुटेको छ।
‘चार वर्षदेखि सडक सञ्चालनका लागि कुनै ठोस पहल नहुँदा बर्खाका चार महिना सडक पूरै अवरुद्ध हुने गरेको स्थानिय बताउँछन् । अछामको साँफेबगरबाट मार्तडीसम्म २२ वर्ष लगाएर ट्र्याक खुलेको थियो। डिभिजन कार्यालयका इन्जिनियर दमन बिष्टले सडक बनाउने कुनै आधार छैन, भने। माथिबाट पहिरो आएको छ। तलबाट नदीले सडक कटान गरिसकेको छ। ‘चार वर्षदेखि हरेक बर्खामा सडक अवरुद्ध हुने गरेको छ। स्थानीय तहको बजेटले भ्याउँदैन, प्रदेश र संघ सरकारले चासो लिएको छैन, बाजुराका बासिन्दा दुःखमा छन्,’ मार्तडी हाटबजार ब्यबस्थापन समितिका अध्यक्ष चक्र मल्ल भन्छन्। सडक अवरुद्ध भएका कारण मार्तडी कोल्टीसहितका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिने गरेको छ। यस्तै सडक अवरुद्ध भएपछि सर्वसाधारणले हिँडेर तीन किलोमिटर सडक पार गर्ने गरे पनि बिरामीलाई समस्या भएको छ।
बाजुराको जिल्ला अस्पताल र कोल्टी अस्पतालले रेफर गरेका बिरामीलाई बाहिर लैजान साह्रै समस्या भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले जानकारी दिए । उनले भने बिरामीका आफन्त समस्यामा छन, रेफर गरे पनि ठूला अस्पतालसम्म लैजान समस्या छ’, डा.जोशीले भने, ‘अझ जिल्ला अस्पताललाई चाहिने औषधि ढुवानीमा समस्या छ। आधा बाटोमा गोदाम भाडामा लिएर औषधि भन्डारण गर्नु परेको छ।’ राजमार्ग अवरुद्ध हुने गरे पनि त्यसको वैकल्पिक मार्गबारे अझै टुंगो लागेको छैन। बडिमालिका नगरपालिकाका मेयर पदम बढुुवाल बर्खाका बेला सडक अवरुद्ध हुँदा जनताले दुःख पाइरहेको बताउँछन्। ‘यसमा संघीय सरकारको बढी चासो हुनुपर्छ, त्यो सडकको रेखांकन नै परिवर्तन गर्नुपर्छ,’ बढुवाल भन्छन्।
सडक डिभिजन कार्यालय साँफेबगरले भने सडकको विकल्पका धुरालसेन–डुुग्री हुँदै तिपाडा जोड्नको लागि डीपीआर बनाएर संघीय मन्त्रालयमा पठाएको जनाएको छ। डिभिजन कार्यालयका इन्जिनियर बिष्ट बैकल्पिक सडक बनाउनका लागि संघीय भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भइरहेको बताउँछन्। ‘अहिले भत्किएको सडकको पहिलो विकल्प धुरालसेन–डुग्री–तिपाडा हो तर त्यो ठाउँ पनि पूर्णरूपमा सुरक्षित छैन। त्यहाँ सर्वसाधारणको जग्गा घर पर्छन्, पछि मुआब्जाका कुराहरू उठ्छन्, बस्ती नै जोखिममा पारेर बैकल्पिक मार्ग बनाउनुपर्ने देखिन्छ’ इन्जिनियर विष्टले भने। उनले अर्को बिकल्पका रूपमा रहेको बल्दे–आँटिचौर–मैतोला भौनेर हुँदै मार्तडी भएको र‘त्यसका लागि पनि भौनेरामा पुल वा बेलिब्रीज आवश्यक हुन्छ। त्यहाँ पनि बल्दे, अम्कोट, द्वारी र मलाती क्षेत्रको दुई किलोमिटर सडक पहिरोले भासिएको छ,’ उनले भने। सडक डिभिजनले नयाँ रेखांकनको डिपिआर बनाए पनि पुरानो सडकलाई दिगो बनाउन विज्ञ टोली आएर फर्केको तर त्यसको रिपोर्ट भने नआईसकेको इन्जिनियर बिष्टले भने। साँफे मार्तडी ५७ किलोमिटर सडक निर्माणमा नेपाल सरकारको झण्डै पौनै २ अर्ब बजेट खर्च भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ।