काठमाडौं। जसपाको अधिकारसम्बन्धी विवादमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको दावी गरिएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पक्षमा अत्यधिक बहुमत जुटिसकेको भन्दै अझैपनि आयोगमा सनाखतका लागि कार्यकारीणी सदस्यहरु आउने क्रम जारी रहेको बताए । उनले भने, ‘हाम्रो पक्षमा अत्यधिक बहुमत देखिएको छ। अहिलेसम्म ३४ जनाको हस्ताक्षर हाम्रो पक्षमा भएको छ, केही आउने क्रम जारी छ।’
सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र इत्तर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनमा पुगेको थियो । सोही विवादका बीच ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि जसपा दुई भागमा विभाजित भएको हो । तर, पार्टीको आधिकारिकता कुन पक्षले पाउने भन्ने विषयको निरुपण आयोगले आज हेड काउन्टुमार्फत गरिरहेको हो । यादव पक्षलाई ठाकुर पक्षका नेताले समेत आयोगमा पुगेर हेड काउन्टुमा सघाएका छन् ।