बैतडी। बैतडीको पाटन-पञ्चेश्वर सडकखण्डमा काम गर्ने लेन्थवर्करहरुले २० दिन पछि अनसन तोडेका छन्। आफुहरुको २१ महिनासम्मको पारिश्रमिकको माग गर्दै गत असार १८ गतेदेखि रिले अनसन थालेका उनीहरुले बुधवार अनसन तोडेका हुन्। पाटनमा बुधबार बसेको सरोकारवालाहरुको बैठकबाट सहमती जुटेपछि उनीहरुले अनसन तोडेका हुन् । लेन्थवर्करहरुको समस्यालाई दृष्टिगत गर्दै उनीहरुको ब्यबस्थापन गर्न सुदुरपश्चिम प्रदेश सरकारलाई निति बनाउन आग्रह गर्ने र निति बनाई सके पछि पाटन-पञ्चेश्वर सडकखण्डमा बिगतदेखि नै काम गर्दै आएका उनीहरुलाई नै निरन्तरता दिने सहमती भए पछि उनीहरुले अनसन तोडेका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिए ।
सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट (आदित्य) समेत सहभागी उक्त बैठकमा लेन्थवर्करहरुको पारिश्रमिकका लागी प्रदेश सरकार सामु बिशेष पहल गरिने आपसी समझदारी भएको पाण्डेले जानकारी दिए । यस्तै तत्काल उनीहरुको माग सम्बोधन नभए पाटन नगरपालिका र मेलौली नगरपालिकाले लेन्थवर्कहरुलाई राहत स्वरुप खाद्यन्न समाग्री उपलब्ध गराउने समेत मौखिक सहमती भएको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ । सहमती पश्चात अनसनरत लेन्थवर्करहरुले पाटन नगरपालिकाका नगरप्रमुख केशब बहादुर चन्दको हातबाट जुस पिएर अनसन तोडेका हुन् । बैठकमा प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डे,सुरक्षा निकायका प्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुख शिद्धराज भट्ट, भौतीक पुर्वाधार कार्यालय बैतडीका प्रमुख जगत प्रशाद जोसी, पाटन नगरपालिकाका प्रमुख चन्द र बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको सहभागी थियो ।