काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बुधबार विहान ९ बजे प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएका थिए।विश्वासको मत प्राप्त गरेकोमा बधाई दिन र आफ्ना मागको सम्बोधनमा ध्यानाकर्षण गराउन ठाकुर बालुवाटार गएको उनका सहयोगी सतेन्द्र मिश्रले जानकारी दिए । मंगलबार ठाकुरले आफूहरुको माग पूरा गर्न वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धता जनाएकाले विश्वासको मत दिएको भन्दै माग चाँडो पूरा गर्न ध्यानाकर्षण गराइएको छ ।
मिश्रका अुसार ठाकुरले आज विहान भेटेरै यसबारे कुरा उठाएका थिए । जसपाको ठाकुर पक्षले संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरी लगायतका राजवन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता सम्बन्धी समस्या समाधान, स्थानीयहरुको जनसंख्याको अनुपातमा पुनस्संरचनालगायतका समस्या समाधानमा विषय उठाइरहेको छ । यसको सम्बोधनका लागि प्रतिबद्धता जनाएपछि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको ठाकुर पक्षको भनाइ छ । आइतबार विश्वासको मत सिद्ध गरेका देउवासँग ठाकुर पक्षले माग सम्बोधनका लागि जोड दिएको हो ।