धनगढी। सुदूरपश्चिम रक्त सञ्चार केन्द्र सञ्चालनमा आएको छ । प्रदेशमै पहिलो पटक अत्याधुनिक रक्त सञ्चार केन्द्र आजदेखि सञ्चालनमा आएको हो । रक्त सञ्चार केन्द्रको आज एक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो । नेपाल रेडक्रस सोसाईटी कैलालीले धनगढी उप–महानगरपालिकाको समन्वय तथा अमेरिकी जनताको सहयोगबाट धनगढीमा देशकै नमुना सुदूरपश्चिम रक्त सञ्चार केन्द्रको स्थापना गरेको हो । झण्डै ११ करोडको लागतमा रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि प्रदेशमा रगत आपूर्तिमा सहजता हुने विश्वास गरिएको छ। दुई तले भवनमा सञ्चालन हुने रक्त सञ्चार केन्द्रमा विश्व स्वास्थ्य संगठनले तोकेको सबै मापदण्ड पूरा गरिएको नेपाल रेडक्रस सोसाईटी कैलालीले जनाएको छ ।
यस्तै, धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले उपमहानगरको समन्वय तथा अमेरिकी जनताको सहयोगबाट धनगढीमा देशकै नमुना सुदूरपश्चिम ब्लड सेन्टरको स्थापना भएको जानकारी गराए । उनले भने, सेन्टरको आज उद्घाटन गर्न पाउदा निकै खुसी छौं । यसले यस प्रदेशमा नै रगतको आपूर्तीगर्न सजिलो हुनेछ । धनगढी उपमहानगरपालिकाले नगरवासीलाई आवश्यकता अनुसारको रगत निशुल्क उपलब्ध गराउदै आएको जानकारी गराउदै अव झनै सहज हुनेछ नगर प्रमुख वडले भने।