काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई एमाले विभाजन रोक्न कार्यदलमा रहेर प्रयास गर्दा केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको खुलासा गरेका छन् । रावलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार भएको बताएका छन् । रावलले विज्ञप्तिमा भनेका छन्, ‘मेरोविरुद्ध कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा एमालेलाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ ।’ रावलले आफूलाई कसले धम्की दिए भन्ने खुलाएका छैनन् ।
तर, एमाले विभाजन रोकिने पो हो कि भनी कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारी दिनुपर्छ कि जस्तो लागेको भन्दै सांकेतिक रूपमा खुलाएका छन् । रावलले आफू असार २० गते पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएको कुरा माधव नेपाल र रघुजी पन्तलाई जानकारी रहेको समेत प्रष्ट पारेका छन् । माधव नेपाल निवासमै बसिरहेका बेला विष्णु पौडेलको फोन आएको र रघु पन्तसहित बालुवाटार आउँछु भन्दा एक्लै आउन भनिएपछि एक्लै गएर पार्टी एकताको लागि कार्यदल सक्रिय गराउन ओलीलाई आग्रह गरेको बताएका छन् ।