बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं २ घमालीमा शनिबार राती आएको बाढीले ३ सय रोपनी जमीन बगरमा परिणत गरेको छ । स्थानीयहरुको धान उब्जिनी हुने खेत बगरमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । आइतबार बाढी प्रभावित क्षेत्रमा प्रहरी टोली पुगेको र तीन सय रोपनी जमीन बगरमा परिणत भएको पाइएको उनले बताए । उनले भने ‘बर्षातको समयमा जिल्लामा अहिले सम्मकै बढी क्षति भएको पाइएको छ । खोला र नदीमा आएको बाढीले धानखेत बगरमा परिणत गरेको छ ।’ धान रोपेको खेत बगरमा परिणत भएपछि स्थानीयबासीहरुलाई लाखौंको क्षति भएको छ । यस्तै बाढीले चारओटा पानीघट्ट बगाएको छ भने दुईओटा मन्दिर समेत बगाएको प्रहरीले जनाएको छ ।
शनिबार राती छिनाडाँडा बग्ने भकुण्डे खोला र ढीकगाड नदीमा आएको बाढीले बितण्डा मच्चाएको हो । नदी किनारमा रहेका सबै खेत बगरमा परिणत भएको स्थानीय जनकबहादुर कार्कीले बताए । बाढीले लाखौंको क्षति गरेको उनले बताए । उनले भने ‘हामीहरु आफ्नो खेत हेरेर रोईरहेका छौं । मानो रोपेर मुरी उब्जनी हुने खेत बाढीले बगर बनाएको छ । जताततै खेतमा ठूल्ठूला ढुंगा मात्रै छन् ।’ बगरमा परिणत भएको खेतमा अब खेत बनाउन नसकिने गरी क्षति भएको उनले बताए ।एक्कासी ठूलो पानी पर्दा भकुण्डे खोला र ढीकगाड नदीमा आएको बाढीले नोक्सान पुर्याएको स्थानीय धनीसिंह कार्कीले बताए । भर्खरै रोपाँई सकिएको खेत बाढीले बगाएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको उनले जानकारी दिए ।