बैतडी। लगातारको बर्षाका कारण बैतडीमा एक घर पुरिएको छ । दोगडाकेदार गाउँपालिका ८ बुङाधार स्थित सेरुवा कामी र धने कामी बस्दै आएको घर पुरिएको स्थानीय गणेश पार्कीले जानकारी दिए। शनिबार राती घरमाथिबाट खसेको पहिरोले घरको छाना भत्काएपछि घरको एकतर्फको भित्ता पूरै भत्किएको उनले बताए। रातीको समयमा घरमा पहिरो खसेपछि कोठामा सुतीरहेका धने कामी र रोशन पार्की समान्य घाइते भएका छन्।
उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ। राती नै स्थानीयहरुको सहयोगमा उनीहरुलाई छिमेकीको घरमा सारिएको छ। यस्तै घरमाथिबाट खसेको पहिरोले जय पार्की र रमे पार्कीको घर पनि जोखिममा परेको छ । उनीहरुलाई पनि छिमेकीको घरमा सारिएको पुष्पाञ्जली सामुदायिक विकास तथा उत्थान समाजका अध्यक्ष गणेश पार्कीले बताए। उनले भने ‘पहिरोको जोखिममा परेका परिवारलाई हामीले राती नै उद्धार गरेर छिमेकीको घरमा राखेका छौं । पानी परिरहेकाले पहिरोले थप क्षति पुर्याउने देखिएको छ ।’
यस्तै पहिरोका कारण दोगडाकेदार गाउँपालिका ८ को बल्लेखोला, ओसइल र कालापानी बस्ती पनि जोखिममा परेको छ । सो ठाउँमा पहिलादेखि नै पहिरोको समस्या रहेको र लगातारको बर्षाले फेरी पहिरो खस्न थालेको स्थानीयहरुले बताएका छन् । यस्तै बुङाधारमा खसेको पहिरोले गाउँमा जाने खानेपानी समेत अवरुद्ध भएको छ । पहिरोले खानेपानीको मेनलाइन भत्किएपछि मालथला, मान्लेक,चौंसिला, रीसा लगायतका ठाउँको खानेपानी अवरुद्ध भएको हो ।